क्रिकेटका करण केसी र फुटबलकी सावित्रा भण्डारी सातौँ पोखरा स्पोर्टस् अवार्ड २०७९ का उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा करण पुरुषमा र सावित्रा महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी बनेका हुन् ।
वर्षका उत्कृष्ट खेलाडीहरुले दुई लाख १७ हजार पर्ने इलेक्ट्रिक स्कुटर पाएका छन् ।
यसैगरी, क्रिकेटका वर्षका उत्कृष्ट खेलाडी सुवास भण्डारी बनेका छन् ।
भलिबलका उत्कृष्ट खेलाडी रवि केसी र फुटबलका उत्कृष्ट खेलाडी सुमित श्रेष्ठ बनेका छन् ।
वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड आर्चरीका किशोरकुमार गुरुङले पाए । मञ्चले ०७३ सालदेखि अवार्ड गर्दै आइरहेको मञ्चका अध्यक्ष दिननाथ बरालले जानकारी दिए ।
प्रदेशका ११ जिल्लामा खेलाडीले गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिएको बरालले जानकारी दिए ।