दुनै–ल्यासिक्याप सडक अलपत्र

ठेकेदारको लापरबाहीले उपल्लो डोल्पाका तीनवटा पालिका जोड्ने दुनै–ल्यासिक्याप सडक अलपत्र परेको छ । भेरी करिडोर अन्तर्गत पर्ने सो सडक निर्माणको ठेक्का पाएको सूर्य श्रेया शान्तिदेवी जेभी काठमाडौंले लापरबाही गर्दा सडक अलपत्र परेको हो ।

१७ चैत ०७८ मा १३ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको सूर्य श्रेयाले १६ पुस ०८२ भित्र २५ किलोमिटर सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । प्रत्येक वर्ष सात किलोमिटर सडक खन्नुपर्नेमा अहिलेसम्म दुई किलोमिटर सडक पनि खनिएको छैन ।

सो सडक नबन्दा दुनैसम्म सडक सञ्जाल जोडिए पनि त्यसभन्दा माथिको यात्रा ठप्प भएको काइके गाउँपालिकाका अध्यक्ष अंगद रानाले बताए । उनका अनुसार २९ मंसिर ०७९ देखि बाटो पूर्ण रूपमा बन्द छ ।

काइके, डोल्पोबुद्ध र छार्काताङसुङ गाउँपालिकामा जाने मुख्य बाटो भएकाले निर्माण कार्य अलपत्र पर्दा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको उनले बताए ।

सडक निर्माण अलपत्र पर्दा स्थानीयले सास्ती पाएको भन्दै पालिका अध्यक्ष रानाले ठेकेदार कम्पनीलाई पटकपटक पत्र लेखेर निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन् ।

तर, ठेकेदार कम्पनीले अटेरी गर्दै आएको छ । ठेकेदारले अटेरी गरेपछि पालिकाले आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गर्दै आएको छ । तै पनि सडक निर्माण अघि बढेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *