पृथ्वी राजमार्ग १८ घण्टापछि एकतर्फी खुल्यो

धादिङको गणेश खोला पुल नजिकै सडक भासिएर ठप्प बनेको पृथ्वी राजमार्ग करिव १८ घण्टापछि एकतर्फी रुपमा खुलेको छ।

सोमबार अपराह्न करिव ४ बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग भासिएको ठाउँमा ग्यावियन जाली भरेपछि एकतर्फी रूपमा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

धादिङको धुनीवेशी नगरपालिका-६ धार्के र थाक्रे गाउँपालिका-८ सिमाना जोड्ने पुल नजिकै भासिदा राजमार्ग दुवैतर्फ ठप्प बनेको थियो। भासिएको भागमा ग्यावियन जाली लगाएर उकास्ने र भ्वाङ परेको भाग पुर्ने कार्य पश्चात् राजमार्ग सुचारु गरिएको हो।

मर्मतको लागि नेपाली सेना, सशत्र प्रहरी परिचालन गरिएको छ । जैसवारले भने, ‘अहिले एकतर्फी रूपमा सडक सुचारु गरिएको छ । तर दुवैतर्फ सुचारु गर्न समय लाग्छ ।’

नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरकार, स्थानीयहरु, राजमार्गमा यात्रा गरिरहेका यात्रु सबैको सहयोगमा भासिएको भाग मर्मत गरिएको हो । सडक सुचारु भएसँगै यात्रुहरु गन्तब्यतर्फ प्रस्थान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *