सरकारले काठमाडौं उपत्यकामा रातो बत्तीमा पनि नरोकिने सुधारिएको द्रुत बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायहरूसँग छलफल अघि बढाएको छ ।
यस किसिमको बस सेवालाई बिआरटी (बस र्यापिड ट्रान्जिट) सिस्टम भनिन्छ । उपत्यकाको ट्राफिक जाम कम गर्न, स्टेसनहरूमा धेरै समय नरोकी यात्रुहरूलाई गन्तव्यमा छिटो पुर्याउन र सार्वजनिक यातायातप्रति सर्वसाधारणको आकर्षण बढाउन बिआरटी बस सेवा सञ्चालन गर्न लागिएको हो ।
नेपालमा यस्तो सुविधासहितको बस सञ्चालन हालसम्म हुन सकेको छैन । यही कारण पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार विज्ञटोलीलाई बोलाएर यस्तो बस सेवा सञ्चालन गर्नेबारे छलफल गरेको थियो ।
यसअघि सन् २०१८ मा पनि द्रुत बस सेवा सञ्चालनबारे लगानी बोर्डको टोलीले अध्ययन गरेको थियो । तर, बिआरटी बस सञ्चालन गर्नेबारे सरकारले बेवास्ता गर्दै आएको थियो ।
यसपटक भने सो प्रतिवेदनलाई आधार मान्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञ र मातहतका निकायलाई उक्त प्रवृत्तिका बस सञ्चालन गर्न निर्देशन दिएका छन् ।