अनधिकृत रूपमा बनाइएका प्रहरी बिटमा काठमाडौं महानगरपालिकाले डोजर लगाउन थालेको छ । महानगरले मंगलबार पुरानो बसपार्कस्थित ट्राफिक प्रहरी बिटमा डोजर लगाएर यो कामको सुरुवात गरेको हो ।
महानगरका अनुसार प्रहरीले नै फुटपाथ अतिक्रमण गरेर प्रहरी बिट बनाएका कारण डोजर लगाइएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सडक–पेटीमा बनेको ट्राफिक प्रहरी बिट हटाइएको हो ।
‘फुटपाथ मिचेर बनाइएको प्रहरी बिटमा पनि डोजर लगाएका छौँ । अनधिकृत रूपमा बनाइएका अन्य बिटहरू पनि भत्काउँदै जानेछौँ,’ उनले भने । उक्त ठाउँमा रहेका बिटलाई वडा नम्बर २८ कार्यालयसँगैको भवनमा राख्ने व्यवस्था मिलाइएको छ ।
यसअघि, महानगरका मेयर बालेन्द्र साहले गत २५ चैतमा नै सडक र सडक–पेटी मिचेर बनाइएका १९ वटा प्रहरी बिटको नाम सार्वजनिक गरेका थिए । उनले फुटपाथ व्यापारलाई नियन्त्रण गरिसकेको र अब यो नियम सबैका लागि बराबर हुने बताएका थिए ।
सम्बन्धित निकायलाई नै उक्त संरचना हटाउन भने पनि नहटाएपछि भत्काउन सुरु गरेको महानगरले जनाएको छ । यसअघि महानगरले गत २४ माघमा फुटपाथ मिचेर बनाएको भन्दै मैतीदेवी चोकमा रहेको प्रहरी बिटमा डोजर लगाएको थियो ।
महानगरले विदेशी नियोगले पनि अनधिकृत रूपमा संरचना निर्माण गरेको भन्दै ती संरचनालाई हटाउन छलफल भइरहेको बताएको छ ।