फ्लाई दुबईका कर्मचारीलाई कारबाही

फ्लाई दुबईको विमानबारे भ्रम फैलाएको भन्दै नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीका कर्मचारीलाई कारबाही गरेको छ।

फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई तत्कालका लागि विमानस्थल प्रवेशमा रोक लगाई एयरपोर्ट पास समेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ।

उनीहरूले काठमाडौं–दुबई उडानका क्रममा फ्लाई दुबईको फ्लाइट नम्बर एफडिजेड ५७६ (बी ७३७–८००)मा चरा ठोक्किएको भनी भ्रमपूर्ण समाचार फैलाए पनि त्यस्तो नपाइएको प्राधिकरणले जनाएको छ।

सोमबार राति काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही बेरमै विस्फोट भए जस्तै ठूलो आवाज सुनिएको थियो भने विमानमा आगोको लप्का देखिएको थियो।

डबल इन्जिन भएको सो विमानको एउटा इन्जिनमा आगो लागेपछि १० मिनेटसम्म काठमाडौंको आकाशमा होल्ड गराइएको थियो । तर, सुरक्षित जान सकिने सम्भावना रहेको भन्दै पाइलटले विमान दुबई तर्फ नै उडाएर सुरक्षित अवतरण गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *