२०२७ देखि चीनमा पेट्रोल गाडी नबनाउने एमजीको घोषणा

काठमाडौं । चिनियाँ अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा एमजीले आफ्नो उत्पादन रणनीतिमा ठूलो परिवर्तन गर्ने भएको छ । चिनियाँ अटोमोबाइल कम्पनी एसएआईसी मोटरको स्वामित्वमा रहेको एमजीले सन् २०२७ जनवरी १ देखि चीनमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन उत्पादन पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो ।

कम्पनीले शुक्रबार आयोजित २०२६ ग्वाङ्झाउ अटो शोमार्फत चीनमा आन्तरिक दहन इन्जिन (आईसीई) भएका गाडीको उत्पादन अन्त्य गर्दै विद्युतीय सवारीसाधनमा केन्द्रित हुने योजना सार्वजनिक गरेको हो । यससँगै एमजी चीनमा आफ्नो उत्पादन लाइनअपलाई पूर्ण विद्युतीय बनाउने रणनीतिमा अघि बढ्नेछ ।

विश्व बजारमा न्यू इनर्जी भेहिकल (एनईभी) को माग र प्रयोग बढ्दै जानु यो निर्णयको मुख्य कारण रहेको कम्पनीले जनाएको छ । विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढिरहेको अवस्थामा बदलिँदो बजारअनुसार उत्पादन संरचना परिवर्तन गर्न लागिएको एमजीको भनाइ छ ।

पेट्रोल गाडीको उत्पादन बन्द गर्ने निर्णय गरे पनि हाल एमजीका पेट्रोल गाडी प्रयोग गरिरहेका ग्राहकलाई भने कम्पनीले बेवास्ता नगर्ने जनाएको छ । त्यस्ता गाडीको पूरा आयु अवधिसम्म आवश्यक सर्भिसिङ तथा स्पेयर पार्ट्स उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

यद्यपि, चीनमा पेट्रोल गाडी उत्पादन बन्द गर्ने निर्णयले विदेशका बजारमा तत्काल प्रभाव पार्ने छैन । एमजीले विभिन्न देशको ऊर्जा पूर्वाधार, उपभोक्ताको रुचि र सरकारी नीतिअनुसार विद्युतीय सवारीतर्फको रूपान्तरण अघि बढाउने स्पष्ट पारेको छ । त्यसैले चीनबाहिरका बजारमा उपलब्ध पेट्रोल गाडीको उत्पादन तथा बिक्री तत्काल बन्द हुने छैन ।

पछिल्लो समय एमजीको विद्युतीय सवारीसाधन बिक्रीमा पनि उल्लेख्य वृद्धि देखिएको छ । कम्पनीको तथ्यांकअनुसार सन् २०२६ अक्टोबरमा विश्वभर ८५ हजारभन्दा बढी एनईभी बिक्री भएका थिए । त्यसमध्ये चीनमा मात्रै ३१ हजारभन्दा बढी गाडी बिक्री भएका थिए ।

विदेशी बजारमा समेत एमजीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । विशेषगरी युरोपमा १० लाखभन्दा बढी सवारीसाधन बिक्री गर्ने पहिलो चिनियाँ अटोमोबाइल ब्राण्डको उपलब्धि एमजीले हासिल गरिसकेको छ ।

यसअघि अर्को चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडीले पनि परम्परागत पेट्रोल तथा डिजेल गाडी उत्पादन बन्द गरिसकेको छ । बीवाइडीले सन् २०२२ मार्चदेखि आईसीई गाडी उत्पादन पूर्ण रूपमा रोकेर ब्याट्री विद्युतीय (बीईभी) र प्लग–इन हाइब्रिड सवारीसाधनको उत्पादनमा मात्रै ध्यान दिँदै आएको छ ।

चिनियाँ अटोमोबाइल उद्योगका प्रमुख ब्राण्डहरू क्रमशः विद्युतीय प्रविधिमा केन्द्रित हुँदै जानुले विश्व अटोमोबाइल बजारको भविष्य पनि विद्युतीय सवारीतर्फ तीव्र गतिमा अघि बढिरहेको संकेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *