काठमाडौँ । जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक पर्यटन तथा तीर्थयात्रालाई सहज बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको सरयु–कमला एक्सप्रेस रेल सेवा व्यावसायिक रूपमा सुरु भएको छ । उद्घाटन भएको एक सातापछि हिजोदेखि रेलले नियमित व्यावसायिक सेवा दिन थालेको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार पहिलो दिन जनकपुरधामबाट अयोध्या जान ४०० यात्रुले टिकट लिएका छन् । अयोध्याबाट जनकपुरधाम आइपुगेको रेल यात्रु लिएर पुनः अयोध्याका लागि प्रस्थान गरेको उनले जानकारी दिए ।
व्यावसायिक सञ्चालनसँगै अब यात्रुले सहज रूपमा टिकट बुकिङ गर्न सक्नेछन् । भारतको टिकट प्रणालीमार्फत अनलाइन बुकिङ गर्न सकिनेछ भने नेपालबाट यात्रा गर्नेले जनकपुरधाम रेल्वे स्टेसनबाटै टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
जनकपुरधामबाट अयोध्यासम्मको यात्राका लागि स्लीपर श्रेणीको भाडा ५८४ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, वातानुकूलित तेस्रो श्रेणी इकोनोमीको १ हजार ४१६ रुपैयाँ, तेस्रो श्रेणीको १ हजार ५४४ रुपैयाँ र दोस्रो श्रेणीको २ हजार १७६ रुपैयाँ भाडा तोकिएको छ ।
रेल प्रत्येक सोमबार बिहान ५ः३० बजे अयोध्याबाट जनकपुरधामका लागि छुट्नेछ भने शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ । निर्धारित तालिकाअनुसार सञ्चालन हुने यो सेवाले नेपाल र भारतबीचको धार्मिक आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाल सरकारबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ । यात्रुले नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमध्ये कुनै एकका आधारमा टिकट लिन सक्नेछन् ।
कुल १७ डिब्बा रहेको रेलमा यात्रुको सुविधा र आर्थिक क्षमताअनुसार विभिन्न श्रेणीका सिट उपलब्ध छन् । रेलमा वातानुकूलित दोस्रो श्रेणीका दुई, तेस्रो श्रेणीका तीन, तेस्रो इकोनोमीका तीन, स्लीपरका सात र एसएलआरका दुई डिब्बा रहेका छन्।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ । रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुरलगायत स्थानमा व्यावसायिक बिसौनी राखिएको छ । ती स्थानबाट समेत यात्रु चढ्न र ओर्लन सक्नेछन् ।
त्रेतायुगीन रामायण संस्कृतिसँग जोडिएका माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्ने यो सेवाले धार्मिक पर्यटनमा नयाँ सम्भावना थप्ने विश्वास गरिएको छ । यसले दुई देशबीचको ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।