टाटाको नयाँ विद्युतीय एसयूभी सिएरा ईभी कम्पनीका अहिलेसम्मकै उत्कृष्ट उत्पादनमध्ये एक बन्ने अपेक्षा गरिएको छ । आकर्षक डिजाइन र फराकिलो स्पेस भएको सिएराको आईसीई संस्करणमा विद्युतीय पावरट्रेन समावेश गरेर तयार पारिएको यो एसयूभीले उत्कृष्ट ड्राइभिङ अनुभव, ऊर्जा दक्षता र कार्यक्षमताको दाबी गरेको छ ।
सिएरा ईभी ६३ किलोवाट आवर र ७५ किलोवाट आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । यसमा रियर ह्विल ड्राइभ (आरडब्लूडी) र अल ह्विल ड्राइभ (एडब्लूडी) दुवै प्रणाली छनोट गर्न सकिनेछ । यीमध्ये ७५ किलोवाट आवरको डुअल मोटरयुक्त एडब्लूडी संस्करण सबैभन्दा शक्तिशाली र आकर्षक मानिएको छ । वास्तविक सडक अवस्थाको रेन्ज परीक्षणसमेत यही भेरियन्टमा गरिएको छ ।
डिजाइनका हिसाबले सिएरा ईभीले पहिलो नजरमै आकर्षित गर्छ । पछिल्लो समय बजारमा आएका अधिकांश विद्युतीय एसयूभीमा वायुगतिकीय क्षमताका लागि बढी घुमाउरो बनावट अपनाउने प्रवृत्ति देखिए पनि टाटाले सिएरामा त्यस्तो प्रयोग गरेको छैन । कम्पनीले यसको मौलिक पहिचान बनेको ठाडो र बक्सी स्वरूपलाई निरन्तरता दिएको छ । यही डिजाइनले गाडीलाई सडकमा छुट्टै उपस्थिति र बलियो पहिचान प्रदान गरेको छ ।
आईसीई संस्करणसँग मिल्दोजुल्दो आधारभूत डिजाइन भए पनि विद्युतीय संस्करणमा केही परिवर्तन गरिएको छ । विशेषगरी अगाडिको भागमा यसको फरकपन देख्न सकिन्छ । आईसीई मोडलमा रहेको ग्लस ब्ल्याक हेडल्याम्प वरिपरिको भाग र ग्रिललाई हटाएर बडीकै रङको प्यानल राखिएको छ । यसले अगाडिको भागलाई ग्रिलविहीन स्वरूप दिएको छ । ग्लस ब्ल्याक फिनिस भने बम्परको तल्लो भागमा सारिएको छ ।
त्यस्तै, टाटा लोगोको माथिल्लो भागमा राखिएको सिएरा अक्षर हटाइएको छ । गाडीको साइडमा रहेका ‘टाटा डट ईभी’ र पछाडिको भागमा रहेको ‘सिएरा डट ईभी’ ब्याजमा नीलो रङको आउटलाइन प्रयोग गरिएको छ । यसले विद्युतीय संस्करणको छुट्टै पहिचान स्थापित गर्न सहयोग गरेको छ ।
यसमा १९ इन्चका एलोय ह्विल प्रयोग गरिएको छ । यसको डिजाइन आईसीई मोडलसँग समान भए पनि फिनिसिङ भने फरक छ । समग्रमा सिएरा ईभीको डिजाइनले आफ्नो मौलिक पहिचान कायम राख्दै विद्युतीय गाडीको आधुनिक स्वरूपलाई आत्मसात् गरेको छ । विद्युतीय संस्करणलाई अलग देखाउने नाममा टाटाले यसको मूल डिजाइनमा ठूलो परिवर्तन नगर्नु नै यसको विशेषता बनेको छ ।