युरोपमा इलेक्ट्रिक कारको दर्ता ६१ प्रतिशतले बढ्यो, बजार हिस्सा ३२ प्रतिशत

काठमाडौँ। युरोपका प्रमुख कार बजारमा विद्युतीय सवारीप्रतिको आकर्षण तीव्र रूपमा बढेको छ । सन् २०२६ को अक्टोबरमा १८ प्रमुख युरोपेली बजारमा करिब ३ लाख नयाँ इलेक्ट्रिक कार दर्ता भएका छन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६०.९ प्रतिशत बढी हो ।

ई–मोबिलिटी युरोप र न्यु अटोमोटिभले सार्वजनिक गरेको अक्टोबर बुलेटिनअनुसार उक्त महिनामा कुल २ लाख ९५ हजार २५२ ब्याट्रीबाट चल्ने यात्रुवाहक कार दर्ता भएका हुन् । नयाँ कार दर्तामा इलेक्ट्रिक सवारीको हिस्सा पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो वर्ष अक्टोबरमा करिब २० प्रतिशत रहेको यस्तो हिस्सा यस वर्ष बढेर ३२.१ प्रतिशत पुगेको छ ।

बुलेटिनमा समेटिएका १८ देशमध्ये १७ वटामा अक्टोबर महिनाको इलेक्ट्रिक कार बजार हिस्सा यस वर्षको जनवरीदेखि अक्टोबरसम्मको औसतभन्दा बढी देखिएको छ । इटालीमा भने यसको विपरीत अवस्था देखियो । त्यहाँ दस महिनाको औसत बजार हिस्सा ८ प्रतिशत रहेकामा अक्टोबरमा घटेर ५.९ प्रतिशतमा सीमित भयो ।

कुल दर्ता संख्याका आधारमा जर्मनी युरोपकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार बजार बनेको छ । अक्टोबरमा जर्मनीमा ९४ हजार ६९ वटा नयाँ इलेक्ट्रिक कार दर्ता हुँदा फ्रान्समा ६१ हजार ९५८ वटा दर्ता भएका छन् । यी दुई देशमा मात्रै १ लाख ५६ हजार २७ वटा इलेक्ट्रिक कार दर्ता भएका हुन् । यो १८ देशको कुल दर्ताको ५२.८ प्रतिशत हो ।

नयाँ कार दर्तामा विद्युतीय सवारीको हिस्साका आधारमा भने नर्वे सबैभन्दा अगाडि देखिएको छ । अक्टोबरमा नर्वेमा दर्ता भएका नयाँ कारमध्ये ९८.८ प्रतिशत इलेक्ट्रिक थिए । डेनमार्कमा यस्तो हिस्सा ८८.४ प्रतिशत पुगेको छ । त्यस्तै, फिनल्यान्डमा ५९.९ र स्विडेनमा ५१.१ प्रतिशत नयाँ कार पूर्ण विद्युतीय थिए ।

जर्मनी र फ्रान्समा पनि इलेक्ट्रिक कारको बजार हिस्सा उच्च देखिएको छ । अक्टोबरमा जर्मनीमा दर्ता भएका नयाँ कारमध्ये ३७ प्रतिशत र फ्रान्समा ४१.५ प्रतिशत विद्युतीय सवारी थिए ।

जनवरीदेखि अक्टोबरसम्मको समग्र तथ्यांकले पनि युरोपमा इलेक्ट्रिक कारको बजार विस्तार भइरहेको देखाउँछ । उक्त अवधिमा १८ प्रमुख बजारमा कुल २२ लाख ९५ हजार ७९१ वटा नयाँ इलेक्ट्रिक कार दर्ता भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.३ प्रतिशत बढी हो ।

दस महिनाको अवधिमा यी बजारमा दर्ता भएका सबै नयाँ कारमध्ये विद्युतीय सवारीको हिस्सा २५.३ प्रतिशत पुगेको बुलेटिनमा उल्लेख छ । पछिल्लो तथ्यांकले युरोपेली कार बजारमा परम्परागत इन्धनबाट चल्ने सवारीको तुलनामा ब्याट्रीमा आधारित विद्युतीय कारको उपस्थिति निरन्तर बलियो बन्दै गएको संकेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *