प्रोटोनको विद्युतीय एसयूभी इ–मास ७ ले ‘सेफ्टी असिस्ट’ विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।
मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवाड्र्स २०२६ मा इ–मास ७ ले उक्त सम्मान जितेको हो ।
यस उपलब्धिले इ–मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रतिको प्रोटोनको प्राथमिकतालाई उजागर गरेको कम्पनीको भनाइ छ ।
इ–मास ७ मा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएका सुरक्षा तथा चालक सहायता सुविधाहरू उपलब्ध छन् ।
यसको २०२६ मोडलमा थप सुविधाका रूपमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट समावेश गरिएको छ ।
यी सुविधाले सवारी चलाउँदा चालकलाई थप सहायता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मानसँगै इ–मास ७ ले मलेसियाको विद्युतीय सवारी बजारमा पनि राम्रो उपस्थिति कायम गरेको छ ।
सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म यस मोडलका ५ हजार ५७९ युनिट बिक्री भएका छन्, जसमध्ये अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएका थिए ।
सोही अवधिमा प्रोटोन इ–मासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएको कम्पनीको भनाइ छ । नेपालमा प्रोटोन इ–मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत उपलब्ध हुँदै आएको छ ।
प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यस विद्युतीय एसयूभीमा आधुनिक डिजाइन, प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न सुविधा समावेश छन् ।
यसको प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
यसमा ४९.५२ केडब्लूएच ब्याट्री उपलब्ध छ ।
त्यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको प्रिमियम भेरियन्टमा ६०.२२ केडब्लूएच डब्ल्यूएच ब्याट्री रहेको छ ।
दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसको मद्दतले करिब २० मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
प्रोटोन इ–मास ७ मा यस सेग्मेन्टमै विशेष रहेको ११ किलोवाटसम्मको एसी चार्जिङ क्षमता रहेको छ भने यसले १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्ने कम्पनीको भनाइ छ ।