भिनफास्टले सन् २०२७ मा भारतमा तीन नयाँ विद्युतीय स्कुटर ल्याउने

काठमाडौँ । भियतनामी विद्युतीय सवारी उत्पादक कम्पनी भिनफास्टले सन् २०२७ मा भारतीय बजारमा तीनवटा नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो इभो, क्यो र काइनेट स्कुटरका भारत लक्षित संस्करण बजारमा ल्याउन लागेको हो।

भारतीय सडक, मौसम र सवारी प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर यी स्कुटरको डिजाइन, च्यासिस तथा कार्यक्षमतामा परिमार्जन गरिने कम्पनीले जनाएको छ। तीनवटै मोडल कम्पनी आफैँले उत्पादन गर्ने भए पनि तिनको अन्तिम नाम र प्राविधिक विवरण भने सार्वजनिक गरिएको छैन।

भिनफास्टले भारतीय बजारका फरक–फरक ग्राहक वर्गलाई लक्षित गर्दै स्कुटर ल्याउन लागेको हो। कम बजेटमा विद्युतीय स्कुटर खोज्ने ग्राहकदेखि उच्च क्षमता र कार्यसम्पादन चाहने प्रयोगकर्तासम्मलाई समेट्ने कम्पनीको योजना छ। भारतमा बिक्री हुने संस्करणमा ग्राउन्ड क्लियरेन्स बढाउनुका साथै सिटमुनिको सामान राख्ने ठाउँ पनि ठूलो बनाइनेछ। त्यस्तै, भियतनाममा बिक्री भइरहेका मोडलको तुलनामा ब्याट्री क्षमता र मोटरको शक्तिमा समेत परिवर्तन हुन सक्ने जनाइएको छ।

‘अटोकार इन्डिया’ का अनुसार इभोमा आधारित स्कुटर भिनफास्टको नयाँ रेन्जमा सबैभन्दा सस्तो मोडल हुने अपेक्षा गरिएको छ। भियतनाममा बिक्री भइरहेको इभोमा १.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ। यसमा थप १.५ किलोवाट आवर क्षमताको हटाउन मिल्ने ब्याट्री राख्ने विकल्पसमेत दिइएको छ। यसको हब मोटरले अधिकतम २.४५ किलोवाट शक्ति उत्पादन गर्छ भने अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ।

त्यस्तै, क्योमा आधारित स्कुटर इभोभन्दा माथिल्लो श्रेणीमा रहने अनुमान गरिएको छ। भियतनामी संस्करणमा ३ किलोवाट आवर क्षमताको ब्याट्री र ३ किलोवाटको हब मोटर उपलब्ध छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा १६० किलोमिटरसम्मको रेन्ज दिन्छ।

क्योमा १४ इन्चका पाङ्ग्रा, टीएफटी डिस्प्ले, कीलेस स्टार्ट र हिल होल्ड असिस्टजस्ता सुविधा छन्। यसको सिटमुनि २१ लिटर क्षमताको स्टोरेज स्पेस उपलब्ध छ। भियतनाममा यसको मूल्य ३ करोड भियतनामी डङ अर्थात् करिब १ लाख ९ हजार भारतीय रुपैयाँ तोकिएको छ।

कम्पनीको आगामी रेन्जमा सबैभन्दा शक्तिशाली स्कुटर काइनेटमा आधारित मोडल हुने अपेक्षा छ। यसको भारत लक्षित संस्करणको मूल्य, प्राविधिक विशेषता र सार्वजनिक गर्ने निश्चित मितिबारे कम्पनीले जानकारी दिएको छैन। भियतनाममा बिक्री हुने यस स्कुटरमा ५.२ किलोवाट क्षमताको हब मोटर जडान गरिएको छ। यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा छ भने ३ किलोवाट आवरको ब्याट्रीबाट एकपटकको चार्जमा १४५ किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी गरिएको छ।

यसमा पनि १४ इन्चका पाङ्ग्रा र टीएफटी डिस्प्ले उपलब्ध छन्। सिटमुनि २२ लिटर क्षमताको स्टोरेज स्पेस रहेको छ। भियतनामी बजारमा यसको मूल्य ४ करोड भियतनामी डङ अर्थात् करिब १ लाख ४५ हजार भारतीय रुपैयाँ छ।

तीनवटै स्कुटर भारतीय बजारमा भिनफास्टको उपस्थिति विस्तार गर्ने योजनाका महत्त्वपूर्ण उत्पादनका रूपमा हेरिएका छन्। यद्यपि, भारतमा बिक्री हुने मोडलको वास्तविक रेन्ज, ब्याट्री क्षमता, मूल्य र अन्य सुविधाबारे आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *