काठमाडाैं । अन्तर्राष्ट्रिय ऐतिहासिक सवारीसाधन महासंघ (फिभा) ले ऐतिहासिक, सांस्कृतिक तथा प्राविधिक महत्व बोकेका सवारीसाधनलाई सम्मान गर्दै उक्त अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष विश्वका विभिन्न देशका २१ वटा सवारीसाधनले यो सम्मान प्राप्त गरेका छन्। भारतबाट भने मारुती ८०० मात्र छनोट भएको हो।
अवार्ड प्राप्त गर्ने मारुती ८०० एसएस८० सिरिजको सन् १९८३ मा उत्पादन भएको मोडल हो। डीआईए ६४७९ दर्ता नम्बर रहेको उक्त कारको इतिहास पनि निकै रोचक छ। सन् १९८३ डिसेम्बर १४ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नयाँ दिल्लीका हरपाल सिंहलाई कारको साँचो हस्तान्तरण गरेकी थिइन्। सिंहले लक्की ड्रमार्फत उक्त कार प्राप्त गरेका थिए।
सिंहको सन् २०१० मा निधन भएपछि यो ऐतिहासिक कार केही वर्षसम्म बेवारिसे अवस्थामा रह्यो। त्यसपछि सन् २०१७ मा मारुती सुजुकीले कारलाई आफ्नो जिम्मामा लिएर पुनर्स्थापनाको काम अघि बढाएको थियो।
करिब पाँच वर्षको प्रयासपछि सन् २०२२ मा कारको रिस्टोरेसन सम्पन्न भएको थियो। पुनर्स्थापनाका क्रममा आवश्यक केही पार्टपुर्जा जापानबाट समेत ल्याइएको थियो। हाल यो कार नयाँ दिल्लीस्थित मारुती सुजुकीको मुख्यालयमा सुरक्षित राखिएको छ।
प्राविधिक रूपमा मारुती ८०० मा ७९६ सीसी क्षमताको तीन सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ।
सन् १९८३ मा भारतीय बजारमा प्रवेश गरेको मारुती ८०० ले निजी कारलाई सर्वसाधारणको पहुँचमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको थियो। भारतमा कार स्वामित्वको संस्कृतिलाई विस्तार गर्न योगदान दिएको यस मोडलको २९ लाखभन्दा बढी युनिट उत्पादन तथा बिक्री भएको थियो। लामो समय बजारमा लोकप्रिय बनेको यसको उत्पादन सन् २०१४ मा बन्द गरिएको थियो।