भीमफेदी गाडी दुर्घटनामा एकै वडाका १० जनाको मृत्यु

मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का दसै जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेका अन्य घाइते पाँचजनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। छठपर्व मनाउन घर फर्कंदै गरेका सोही वडाका यात्रु दुर्घटनामा परेको जनाइएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदीमा दुर्घटना भएको हो ।

घटनास्थलमै ३ महिला, २ बालिका र ५ पुरुषको मृत्यु भएको थियो । एक तीन वर्षका बालकलाई भने दुर्घटनास्थलभन्दा केही माथि डाँडामा जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरु सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुरका रहेको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए । छठपर्व मनाउन आउने क्रममा सबै दुर्घटनामा पर्दा अत्यन्तै दुखद घटना भएको उनले बताए । मृत्यु हुनेमा दसैजना एउटै वडा नम्बर ४ का रहेको उनले जानकारी दिए । अहिले सिंगो गाउँ शोकमा परेको छ ।

दुर्घटनामा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव घाइते छन् । उनीहरुको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ ।

काठमाडौंबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रो चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । छठपर्व मनाउन घर आउँदै गरेका सर्लाहीका यात्रु लिएर काठमाडौंबाट बिहीबार बिहान गाडी हिँडेको थियो ।

पछिल्लो समय बिना परिक्षण विद्युतिय सवारी चलाउने अस्वास्थ्य प्रतिस्पर्धाले सवारी दुर्घटना बढेको जानकारहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *