रोल्स रोयस घोस्टको प्रतिस्पर्धी ल्याउँदै बीवाइडी

चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाइडीले आफ्नो सबैभन्दा लक्जरी सेडान ‘याङवाङ अल्टियर’को टिजर सार्वजनिक गरेको छ । कम्पनीले यसलाई विश्वप्रसिद्ध लक्जरी कार ‘रोल्स रोयस घोस्ट’को प्रतिस्पर्धीका रूपमा बजारमा उतार्ने तयारी गरेको हो ।

बीवाइडीले यो कारको टिजर तस्बिर र छोटो भिडियो सार्वजनिक गरेको छ । यसअघि ‘एचयू’ कोडनेमबाट चिनिँदै आएको यो कारको आधिकारिक अन्तर्राष्ट्रिय नाम अल्टियर राखिएको याङवाङ बिक्री विभागका महाप्रबन्धक हु सियाओछिङले घोषणा गरेका हुन् ।

यो कार नोभेम्बर ५ मा संयुक्त अरब इमिरेट्सको दुबईमा पहिलो पटक सार्वजनिक हुने अनुमान गरिएको छ । करिब ५.५ मिटर लामो यो लक्जरी सेडानको मूल्य करिब २० लाख चिनियाँ युआन अर्थात् ३ लाख अमेरिकी डलर हाराहारी हुनेछ ।

अल्टियर नाम ल्याटिन भाषाको शब्दबाट लिइएको हो । जसको अर्थ ‘अझ उच्च’ भन्ने हुन्छ । चिनियाँ बजारमा भने यो कार ‘डिङयाओ’ नामबाट चिनिनेछ ।

याङवाङ बीवाइडीको प्रिमियम तथा अल्ट्रा-लक्जरी सवारी ब्राण्ड हो । अल्टियरमार्फत कम्पनीले उच्च मूल्यका लक्जरी सेडान बजारमा आफ्नो उपस्थिति विस्तार गर्न खोजेको देखिन्छ ।

याङवाङको फ्ल्यागसिप सेडान अल्टियरमा प्राचिन चिनियाँ संस्कृति झल्कने डिजाइन दिइएको छ । कम्पनीको पहिलो मोडल याङवाङ यू ८ एसयूभीको डिजाइन निरन्तरता दिँदै अल्टियर तयार पारिएको हो ।

अल्टियरको अगाडिको भाग प्राचिन चीनमा प्रयोग हुने दुई खुट्टा र दुईवटा किनाराका ह्याण्डल भएको ‘डिङ’ नामक धातुको भाँडाबाट प्रेरित छ । यसको डिजाइनले परम्परागत चिनियाँ सभ्यता र आधुनिक लक्जरी कारको स्वरूपलाई जोड्ने प्रयास गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *