मेची करिडोर (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक खण्डको ठेक्का तोडिएको छ । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको जीवनरेखाका रूपमा रहेको यो सडकको लामो समयसम्म सन्तोषजनक प्रगति हुन नसकेपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो ।
२०७८ असार २९ गते सम्झौता भई २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्ने उक्त सडक निर्माणका लागि पटक(पटक म्याद थप गरी कुल ६३ महिना उपलब्ध गराइएको थियो । उक्त समयमा ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो ।
पछिल्लो ७ महिनामा ३ प्रतिशतभन्दा कम प्रगति भएपछि सडक डिभिजन इलामले २०८३ कात्तिक ११ गते ठेक्का सम्झौता अन्त्य गरेको हो।
सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ । यस क्रममा पेस्की बापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने कार्यसम्पादन जमानत बापतको ६ करोड ७९ लाख रुपैयाँ जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ ।
कानुन तथा सम्झौताबमोजिम असुल गर्नुपर्ने अन्य सरकारी बाँकी रकमसमेत असुल गरिनेछ ।