स्थानीय उत्पादन र ईभी विस्तार गर्ने हुन्डाईको नयाँ रणनीति

भारतमा हुन्डाई मोटर इन्डियाले आर्थिक वर्ष २०२७ मा घरेलु बजारमा ८ देखि १० प्रतिशतसम्म बिक्री वृद्धि गर्ने लक्ष्य राखेको छ । कम्पनीले स्थानीय उत्पादन बढाउँदै अटोमोबाइल बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने योजना बनाएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत तरुण गर्गका अनुसार हुन्डाईले हाल टियर–१ आपूर्तिकर्ताबाट प्राप्त हुने पार्टपुर्जामा ८३ प्रतिशत स्थानीयकरण हासिल गरेको छ ।

यसलाई बढाएर ९२ प्रतिशत पु¥याउने लक्ष्य कम्पनीले लिएको छ । स्थानीयकरण बढाउँदा आयातमा निर्भरता घटाउन, उत्पादन लागत व्यवस्थापन गर्न र भारतको उत्पादन क्षमतालाई बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बिक्री बढाउन कम्पनीले हालै सार्वजनिक गरेको हुन्डाई बायोन एसयूभी र आगामी सानो विद्युतीय एसयूभीलाई मुख्य आधार बनाएको छ । कम्पनीले आगामी आर्थिक वर्षमा क्रेटा र बायोनको संयुक्त बिक्री २ लाख ५० हजार युनिटभन्दा बढी पु¥याउने लक्ष्यसमेत राखेको छ ।

बायोनलाई ल्याटिन अमेरिका, मध्यपूर्व र एसिया–प्रशान्त क्षेत्रसहित करिब ५० देशमा निर्यात गर्ने कम्पनीको योजना छ । हुन्डाईले सन् २०३० सम्म आफ्नो कुल उत्पादन तथा बिक्री पोर्टफोलियोको ५० प्रतिशतलाई वातावरणमैत्री सवारीसाधनमा रूपान्तरण गर्ने लक्ष्य पनि अघि सारेको छ ।

यसका लागि सीएनजी, हाइब्रिड र विद्युतीय सवारीसाधनको विकल्प विस्तार गर्ने उसको तयारी छ । साथै, कम्पनीले भारतमा अनुसन्धान तथा विकास (आरएन्डडी) क्षमतासमेत विस्तार गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *