चिनियाँ अटोमोबाइल निर्माता चेरीले अमेरिकी बजारमा प्रवेश गर्ने योजनालाई अघि बढाएको छ । जसका लागि अमेरिकी अटोमोबाइल कम्पनीहरूसँग साझेदारी गर्न सकिने बताएको छ ।
चिनियाँ प्रविधिमा आधारित हार्डवेयर र सफ्टवेयरमाथि अमेरिकाले लगाएका प्रतिबन्धका बाबजुद कम्पनीले त्यहाँ आफ्नो गाडी बिक्री गर्ने सम्भावना खोजिरहेको हो ।
चेरीका उपाध्यक्ष चार्ली झाङका अनुसार कम्पनी अमेरिकी बजारमा प्रवेश गर्न विभिन्न विकल्पबारे छलफल गर्न तयार छ । अमेरिकी कम्पनीसँग साझेदारी गरेर वा चीनमा निर्मित हार्डवेयर र सफ्टवेयर प्रयोग नगर्ने प्रविधि विकास गरेर अमेरिकी नियम पूरा गर्न सकिने उनले बताएका छन् । यद्यपि, कुन अमेरिकी कम्पनीसँग साझेदारी गर्ने भन्ने विषयमा कुनै विवरण सार्वजनिक गरिएको छैन ।
अमेरिकी बजारमा प्रवेश गर्न चेरीले विभिन्न नियामकीय अवरोध सामना गर्नुपर्नेछ । चिनियाँ विद्युतीय गाडीमा लाग्ने उच्च आयात शुल्क तथा कनेक्टेड गाडीमा प्रयोग हुने चिनियाँ प्रविधिसम्बन्धी प्रतिबन्धले कम्पनीको योजना कठिन बनाएको छ ।
अमेरिकाको कनेक्टेड भेहिकलसम्बन्धी नियमले सन् २०२७ मोडल वर्षदेखि निश्चित चिनियाँ सफ्टवेयर र सन् २०३० देखि सम्बन्धित हार्डवेयरमाथि प्रतिबन्ध लगाउने व्यवस्था गरेको छ ।
चेरीले आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारका क्रममा जेइको, ओमोडा र अन्य ब्रान्डमार्फत विभिन्न देशमा गाडी बिक्री गर्दै आएको छ ।