१२ मिनेटमै १० हजार अर्डर, जिलीको नयाँ एसयूभीले पायो ठूलो प्रतिक्रिया

काठमाडौं । चिनियाँ अटो बजारमा नयाँ एसयूभी सार्वजनिक भएसँगै ग्राहकको उल्लेखनीय चासो देखिएको छ । चिनियाँ अटो निर्माता जिलीले आफ्नो ग्यालेक्सी ब्रान्डअन्तर्गत प्लग–इन हाइब्रिड अफरोड एसयूभी ब्याटलशिप ७०० सार्वजनिक गरेको छ । अक्टोबर १० मा चीनमा सार्वजनिक गरिएको यस गाडीले १२ मिनेटभित्रै १० हजारभन्दा बढी अर्डर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

अफरोड क्षमता र विद्युतीय प्रविधिलाई प्राथमिकता दिएर विकास गरिएको ब्याटलशिप ७०० ले चीनकै बीवाईडीको फेङचेङबाओ टीआई७ लगायतका एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ । शक्तिशाली इन्जिन, लामो रेन्ज र आधुनिक सुविधालाई यसको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ ।

ब्याटलशिप ७०० मा १.५ लिटर टर्बो पेट्रोल र २.० लिटर टर्बो पेट्रोल इन्जिनका विकल्प दिइएका छन् । भेरियन्टअनुसार यसको संयुक्त अधिकतम शक्ति ४६९ देखि १ हजार ११४ हर्सपावरसम्म पुग्छ । सबैभन्दा शक्तिशाली संस्करणले शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन ३.९५ सेकेन्ड मात्र लगाउने कम्पनीको दाबी छ ।

यसमा ४७.१४ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । उक्त ब्याट्रीको सहायताले गाडीले विद्युतीय शक्तिमा अधिकतम ३०५ किलोमिटर यात्रा गर्न सक्ने बताइएको छ । पेट्रोल र विद्युतीय शक्तिको संयुक्त प्रयोग गर्दा यसको रेन्ज १ हजार ७७० किलोमिटरसम्म पुग्ने कम्पनीले जनाएको छ ।

सामान्य सडकमा मात्र नभई कठिन भौगोलिक अवस्थाका यात्रालाई समेत लक्षित गरी तयार गरिएको यस एसयूभीमा अल ह्विल ड्राइभ प्रणाली, एयर सस्पेन्सन र निरन्तर समायोजन गर्न सकिने ड्याम्पिङ प्रविधि समावेश छन् । गाडीले ८०० मिलिमिटरसम्म गहिरो पानी पार गर्न सक्ने दाबीसमेत गरिएको छ ।

ब्याटलशिप ७०० को केबिनमा प्रविधि र आरामदायी सुविधालाई पनि प्राथमिकता दिइएको छ । यसमा पाँचवटा स्क्रिन, १५.४ इन्चको २के सेन्ट्रल डिस्प्ले, यात्रुका लागि छुट्टै स्क्रिन, मसाज सुविधा भएका सिट र १८.५ लिटर क्षमताको फ्रिज उपलब्ध छन् ।

चिनियाँ बजारमा यसको मूल्य भेरियन्टअनुसार १ लाख ७९ हजार ८०० युआनदेखि ३ लाख ६९ हजार ८०० युआनसम्म तोकिएको छ । उच्च शक्ति, अफरोड क्षमता र प्लग–इन हाइब्रिड प्रविधिको संयोजनले ब्याटलशिप ७०० लाई चिनियाँ एसयूभी बजारको प्रतिस्पर्धामा नयाँ विकल्पका रूपमा उभ्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *