काठमाडौं । दसैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू चाडपर्व मनाउन आ–आफ्नो घर फर्किन थालेपछि उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको हो ।
दसैं नजिकिएसँगै लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । परिवार र आफन्तसँग चाडपर्व मनाउन घर जाने यात्रुको सङ्ख्या बढ्दा यातायात व्यवस्थापनमा समेत चुनौती देखिन थालेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएका छन् ।
उक्त अवधिमा सबैभन्दा धेरै यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन् । यस नाकाबाट २७ हजार ६४९ जना बाहिरिँदा भक्तपुर नाकाबाट २० हजार ६१५ जनाले उपत्यका छाडेका छन् ।
त्यस्तै, फर्पिङ नाकाबाट पाँच हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोट नाकाबाट ५६ जना यात्रु बाहिरिएका छन् ।
घर फर्किने यात्रुको चाप बढिरहेका बेला सडकको अवस्थाले यातायात सञ्चालन तथा व्यवस्थापनमा थप कठिनाइ सिर्जना गरेको यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार विभिन्न राष्ट्रिय राजमार्गमा देखिएका समस्याका कारण सवारीसाधन निर्धारित समयमा गन्तव्यमा पुग्न र राजधानी फर्किन कठिन भइरहेको छ ।
गौतमले असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएको बताए । त्यसले दसैंका लागि सवारीसाधन व्यवस्थापनमा थप समस्या उत्पन्न गरेको उनको भनाइ छ ।
यात्रुको चापसँगै सडक अवरोधले यात्रा प्रभावित हुन सक्ने भएकाले महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादरअनुसार रकम तिर्न तथा यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
दसैंमा परिवार र आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउने परम्पराका कारण रोजगारी तथा अध्ययनका लागि राजधानीमा बस्दै आएका मानिसहरू हरेक वर्ष ठूलो सङ्ख्यामा घर फर्किने गर्छन् । यस वर्ष पनि चाडपर्व नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्दै गएको छ ।