गोरखामा बाढीको वितण्डा, आयोजना क्याम्पसँगै मोटरेबल पुल पनि बग्यो

काठमाडाैं। बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण क्याम्प बगाएको छ । बाढीले केही निर्माण उपकरणसमेत बगाएको बताइएको छ ।

करिब ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो अर्धजलाशययुक्त आयोजना साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले निर्माण गर्नेछ । आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले संयुक्त रूपमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

आयोजनाको बाँध गोरखाको चुमनुब्री गाउँपालिका–३ मा र विद्युत् गृह धार्चे गाउँपालिका–३ मा निर्माण गर्ने योजना छ । बाँध क्षेत्र र विद्युत् गृहबीच करिब १० किलोमिटर सडक रहेको कम्पनीले जनाएको छ । आयोजनाको पावर हाउस भूमिगत बनाइनेछ ।

यसैबीच, बाढीले आरुघाट गाउँपालिकाको सोतीमा रहेको मोटरेबल पुलसमेत बगाएको छ । गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार सोती बजार क्षेत्र डुबानमा परेको छ भने माथिल्लो क्षेत्रमा घरसमेत बगाएको जानकारी प्राप्त भएको छ ।

उनका अनुसार बाढीको जोखिमलाई ध्यानमा राख्दै बिहानैदेखि सुरक्षा सतर्कता बढाएर उच्च सतर्कता अपनाइएको थियो । बाढी आरुघाट क्षेत्र पार गरिसकेको र स्थानीय बासिन्दा सुरक्षित स्थानको खोजीमा आरुघाटमाथिको आरुटारतर्फ गएको उनले बताए ।

त्यस्तै, निम्लुङ खोलामा ठूलो पहिरो खसेपछि नदी थुनिने र खुल्ने क्रम जारी रहेको जानकारी प्राप्त भएको अध्यक्ष गुरुङले बताएका छन् । यसले आसपासका बस्तीमा थप जोखिम निम्त्याउन सक्ने भएकाले सतर्कता अपनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *