काठमाडौं । दसैं नजिकिँदै गर्दा चीनबाट नेपाल भित्रिने सामानको आपूर्ति प्रभावित भएको छ। चीनसँग जोडिएका तातोपानी, केरुङ र कोरला नाकामार्फत हुने व्यापारमा अवरोध आएपछि चाडपर्वका लागि ल्याइएका सामान बाटोमै रोकिएका छन्।
कोरला नाकाको भन्सार यार्डमा मात्रै दुई सयभन्दा बढी कन्टेनर थन्किएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि नेपालबाट नयाँ कन्टेनर नाकातर्फ जान सकेका छैनन् भने चीनबाट आएका कन्टेनरसमेत रोकिएका छन्। ती कन्टेनरमा दसैंका सामग्रीसँगै दैनिक उपभोग्य तथा अन्य व्यापारिक सामान छन्।
तीन दिनको लगातार वर्षाले कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकमा ठूलो क्षति पुर्याएको छ। पर्वतको मालढुंगा हुँदै बेनी–जोमसोम सडकखण्डमा ५० भन्दा बढी पहिरो खसेपछि कोरला नाकाबाट हुने व्यापार प्रभावित भएको हो। सडक पूर्ण रूपमा सञ्चालनमा आउन समय लागे आपूर्तिमा थप समस्या आउन सक्ने व्यवसायीको भनाइ छ।
यसअघि भोटेकोशी बाढीका कारण केरुङ नाका अनिश्चित बनेको छ भने तातोपानी नाका पनि लामो समयदेखि बन्द छ। चीनसँग नेपालको व्यापारमा ठूलो निर्भरता रहेकाले तीनै नाकामा आएको अवरोधले बजारदेखि उद्योग तथा व्यवसायसम्म असर पर्ने देखिएको छ।
चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। इलेक्ट्रोनिक्स, लत्ताकपडा, मेसिनरी र विद्युतीय सवारीसाधनमा चीनबाट हुने आयात महत्वपूर्ण रहेकाले नाका अवरोधको असर अटो बजारमा समेत परेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार दसैंका लागि बुकिङ गरिएका सवारीसाधन समयमै ग्राहकलाई दिन नसक्ने अवस्था देखिएको छ। विशेषगरी चीनबाट आउने विद्युतीय सवारीसाधनको आपूर्ति प्रभावित हुँदा चाडपर्वको कारोबारमा असर पर्न सक्ने उनले बताए।
व्यवसायीहरूले नाका लामो समय अवरुद्ध रहे केही वस्तुको अभाव र मूल्यवृद्धि हुनसक्ने बताएका छन्। यद्यपि नेपाल हिमालपार वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले कोरला नाका औपचारिक रूपमा बन्द नभई नेपालतर्फको सडक अवरुद्ध भएका कारण व्यापार रोकिएको बताएका छन्। वर्षा रोकिएर सडक खुलेपछि आपूर्ति क्रमशः सहज हुने उनको भनाइ छ।
उपभोक्ताकर्मीहरूले भने चाडपर्वको समयमा नाका अवरोधलाई बहाना बनाएर कृत्रिम मूल्यवृद्धि हुनसक्ने भन्दै बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन्।