काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र पूर्वी नवलपरासीको गैँडाकोट जोड्ने नारायणी पुलमा सवारी आवागमन आंशिक रूपमा खुला गरिएको छ।
आज बिहानदेखि दुईपांग्रे र साना चारपांग्रे सवारीसाधनलाई आवतजावत गर्न दिइएको हो। ठूला सवारी भने पुलमुनि अड्किएको क्रुजशिप हटाएपछि मात्रै सञ्चालन गर्ने तयारी गरिएको छ।
गएराति गैँडाकोट क्षेत्रमा रुखमा बाँधिएको राइनो क्रुजशिप बाढीले बगाएर ल्याउँदा पुलमुनि अड्किएको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्यसपछि पुलमा सवारी आवागमन रोकिएको थियो।
अहिले क्रुजशिपलाई सुरक्षित रूपमा निकाल्ने तयारी भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ। क्रुज निकाल्न ठूलो क्रेनसमेत फिल्डमा पुगिसकेको छ।