पोखरामा जीडब्ल्यूएमको नयाँ शोरुम, दुई ईभी सार्वजनिक

काठमाडौँ । ग्रेट वाल मोटर (जीडब्ल्यूएम)ले पोखरामा आफ्नो बजार विस्तार गर्दै उत्तमचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमसँगै कम्पनीले ओरा ५ र हाभल जोलियन म्याक्स ईभी सार्वजनिक गर्दै स्थानीय ग्राहकका लागि बिक्री, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवाको पहुँच विस्तार गरेको हो।

नेपालका लागि जीडब्ल्यूएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्सको आधिकारिक डिलर रेज मोटर्स प्रालिले शोरुम सञ्चालनमा ल्याएको हो। नयाँ शोरुमबाट ग्राहकले बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको थ्री एस सेवा एउटै स्थानमा पाउनेछन्।

शोरुम उद्घाटनका क्रममा सार्वजनिक गरिएको ओरा ५ मा ५८.३ किलोवाट आवरको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले डब्लूएलटीपी मापदण्डअनुसार ४३५ किलोमिटरसम्मको रेन्ज दिन्छ। २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहितको गाडीमा विभिन्न सुरक्षा तथा प्रविधियुक्त सुविधा समावेश छन्।

त्यस्तै, हाभल जोलियन म्याक्स ईभीमा १५० किलोवाटको विद्युतीय मोटर र ५८.३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीले यसले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरेको छ। गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट प्रणाली, एडीएएस र भीटूएलजस्ता सुविधा उपलब्ध छन्।

नयाँ शोरुममा जीडब्ल्यूएमका विद्युतीय तथा प्रिमियम गाडीहरू प्रदर्शन गरिनुका साथै ईभीका लागि आवश्यक प्राविधिक सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

रेज मोटर्सका अध्यक्ष अशोक चालिसेले पोखरामा जीडब्ल्यूएम ब्रान्ड ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै ग्राहकलाई बिक्रीसँगै गुणस्तरीय बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।

भीजी इम्पेक्सका महाप्रबन्धक (बिक्री तथा सञ्चालन) अधिरकुमार श्रेष्ठले पोखरा र आसपासका जिल्लालाई लक्षित गर्दै शोरुम विस्तार गरिएको बताए। उनका अनुसार नयाँ केन्द्रबाट स्थानीय ग्राहकलाई जीडब्ल्यूएमका उत्पादन तथा सेवामा सहज पहुँच प्राप्त हुनेछ।

कम्पनीका अनुसार ओरा ५ र हाभल जोलियन म्याक्स ईभीको बुकिङ तथा टेस्ट ड्राइभ खुला गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *