कृष्णभिरबाट पास हुन थाले ग्यास बुलेटहरू

कृष्णभिरमा बनाइएको नयाँ ट्र्याकबाट ग्यास बोकेका बुलेटहरू पास भई काठमाडौं र धादिङस्थित उद्योगमा आएका छन् ।

आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले राति साढे नौ बजेसम्म नौ–दशवटा बुलेट काठमाडौंतर्फ पास भएको जानकारी दिए ।

‘कृष्णभिरमा बनाएको नयाँ ट्र्याकबाट मंगलबार साँझ नौ–दशवटा ग्यास बुलेट पास भएका छन्,’ उनले भने, ‘एउटा बुलेटचाहिँ सीताश्री ग्यास उद्योगका लागि आएको हो, उक्त उद्योग धादिङमा छ ।

अन्य बुलेट कुन उद्योगका लागि ग्यास लिएर आएको हो भनेर कन्फर्मेसन हुन बाँकी छ ।’ उनका अनुसार बुधबार पनि केही बुलेट कृष्णभिरको पहिरो छिचोल्दै आउने गरी व्यवस्थापन मिलाइएको छ ।

मंगलबार साँझ प्रहरीको स्कर्टिङमा बुलेटहरू पास गरी परीक्षण गरिएको उनले बताए ।

‘स्कर्टिङ गरी बुलेटहरू कृष्णभिरबाट पास गराइएको छ । परीक्षणका क्रममा सो बाटो हुँदै बुलेटहरू आउन सक्ने देखिएको छ ।

बुधबार दिउँसो पनि केही संख्यामा ग्यास बुलेटहरू सोही बाटो हुँदै ट्रायलका रूपमा आउनेछन्,’ उनले भने, ‘बिहीबारदेखि भने नियमित रूपमा पृथ्वी राजमार्ग हुँदै ग्यास बुलेट ल्याउने योजनामा छौँ ।’

ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले पनि मंगलबार राति केही बुलेट कृष्णभिरको पहिरो गएको स्थानमा बनाइएको नयाँ ट्र्याक हुँदै काठमाडौंतर्फ प्रस्थान गरेको पुष्टि गरे ।

‘रातको समयमा पनि बुलेटहरू आउने क्रम जारी छ । त्यसैले संख्या यकिन भएको छैन,’ उनले भने । अबदेखि नियमित रूपमा पृथ्वी राजमार्गबाट ग्यास बुलेट आउने भएका कारण काठमाडौं उपत्यकामा चाँडै आपूर्ति सहज हुने उनले बताए ।

‘अब तीन–चार दिनभित्रमै काठमाडौंमा ग्यास आपूर्ति सहज हुन्छ । किनभने, ठुलो संख्यामा ग्यास बुलेटहरू काठमाडौं आउन तयार छन्,’ उनले भने, ‘बजारमा भएका खाली सिलिन्डर पनि छिटो भरेर पठाउनेछौँ ।’

घिमिरेका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आयात परिमाण पनि बढाइएको छ ।

‘सोमबार एक सय ३० बुलेट र मंगलबार एक सय ३३ बुलेट लोड भएको छ,’ उनले भने, ‘आउँदा दिनमा थप संख्यामा बुलेटहरू लोड गर्ने सहमति पनि भएकाले चाँडै आपूर्ति सहज हुन्छ ।’

गत १३ भदौमा कृष्णभिरमा पहिरो गएयता ग्यास बोकेका बुलेटहरू धादिङ, काठमाडौं, ललितपुर र काभ्रेका उद्योगमा आउन पाएका थिएनन् ।

जसकारण तराईका उद्योगमा काठमाडौंका लागि सिलिन्डरमा ग्यास भर्ने र ट्रकमा हालेर ल्याउने गरिएको छ ।

यसरी ग्यास ल्याउँदा भने बजार मागअनुसार पूर्ति हुन सकेको छैन ।

Photos: Binod Shrestha@Mugling

Leave a Reply

Your email address will not be published. Required fields are marked *