काठमाडौं । भरतपुरमा जीएसी एवोन ईभीमा भएको आगलागीको घटनालाई लिएर सार्वजनिक भएका विभिन्न समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाप्रति सीजी मोटर्सले आपत्ति जनाउँदै अनुसन्धानको निष्कर्ष आउनुअघि कुनै धारणा नबनाउन आग्रह गरेको छ ।
कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै गत भदौ २५ गते भरतपुरमा भएको घटनाको अनुसन्धान नेपाल प्रहरी तथा सम्बन्धित सरकारी निकायबाट भइरहेको जानकारी दिएको छ । अनुसन्धान जारी रहेकाले आगलागीको कारणबारे अहिले नै निश्चित निष्कर्ष निकाल्नु उचित नहुने कम्पनीको भनाइ छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै सीजी मोटर्सले प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरेको छ । साथै, घटनाको छानबिनका क्रममा आवश्यक सहयोग तथा समन्वय गर्न कम्पनी तयार रहेको जनाएको छ ।
विद्युतीय सवारीसाधनमा हुने आगलागीका घटनाको कारण पहिचान गर्न सामान्य अनुमानभन्दा प्राविधिक र वैज्ञानिक परीक्षण आवश्यक पर्ने कम्पनीले स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय अभ्यास तथा प्रोटोकलअनुसार घटनास्थलबाट प्राप्त प्रमाणको अध्ययन, प्राविधिक परीक्षण र वैज्ञानिक विश्लेषणमार्फत मात्रै वास्तविक कारण पत्ता लगाउन सकिने उसको भनाइ छ ।
सीजी मोटर्सले सम्बन्धित अनुसन्धान निकायलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ । अनुसन्धानबाट प्राप्त तथ्यलाई आधार बनाएर मात्र घटनाको निष्कर्ष निकालिनुपर्नेमा कम्पनीले जोड दिएको छ ।
कम्पनीले अनुसन्धान पूरा हुनुअघि सामाजिक सञ्जाल वा अन्य माध्यममा अपुष्ट सूचना तथा अनुमानका आधारमा सामग्री सार्वजनिक नगर्न पनि आग्रह गरेको छ । यस्ता सामग्रीले घटनाबाट प्रभावित परिवारसँगै ग्राहक र सर्वसाधारणमा अनावश्यक भ्रम तथा अन्योल सिर्जना गर्न सक्ने कम्पनीको भनाइ छ ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई घटनाबारे तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्दै सीजी मोटर्सले अनुसन्धानको निष्कर्षभन्दा बाहिर गएर कम्पनी वा उत्पादनलाई लक्षित गरी आधारहीन दाबी गरिएमा कानुनी बाटो अपनाउन सक्ने संकेत गरेको छ ।
कम्पनीले आगलागीको वास्तविक कारण पत्ता लगाउन निष्पक्ष, प्रमाणमा आधारित र वैज्ञानिक अनुसन्धान नै प्राथमिकतामा हुनुपर्ने बताएको छ ।