काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरले आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारलाई नयाँ चरणमा लैजाने तयारी गरेको छ । कम्पनीले सन् २०२७ को पहिलो छ महिनाभित्र विदेशी बजारमा प्लग–इन हाइब्रिड (पीएचईभी) गाडी बिक्री सुरु गर्ने योजना बनाएको छ ।
चिनियाँ सञ्चारमाध्यम कैलियानका अनुसार लिपमोटरले विद्युतीय सवारीको बजारसँगै हाइब्रिड सेग्मेन्टमा पनि आफ्नो उपस्थिति बलियो बनाउन अनुसन्धान तथा विकासमा लगानी बढाइरहेको छ । यद्यपि, कम्पनीले विदेशमा ल्याउने पहिलो पीएचईभी मोडल र प्राथमिक बजारबारे भने अहिलेसम्म जानकारी सार्वजनिक गरेको छैन ।
लिपमोटरले हाल ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) र एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेहिकल (ईआरईभी) उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाइब्रिड सवारीप्रतिको माग बढ्दै गएपछि कम्पनीले आफ्नो उत्पादन लाइनअपमा पीएचईभी थप्न लागेको हो ।
विदेशी बजारमा बिक्री बढाउने लक्ष्यसहित लिपमोटरले सन् २०२६ मा चीनबाहिर २ लाख गाडी बिक्री गर्ने प्रक्षेपण गरेको छ । यसअघि कम्पनीले १ लाखदेखि १ लाख ५० हजार युनिट बिक्रीको लक्ष्य राखेको थियो । त्यस्तै, सन् २०२७ सम्ममा वैदेशिक बिक्री ३ लाख ५० हजारदेखि ४ लाख युनिट पुर्याउने लक्ष्य कम्पनीको छ ।
लिपमोटरले यस वर्षको पहिलो आठ महिनामै १ लाख ३२ हजार ११८ वटा गाडी निर्यात गरिसकेको छ । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२७.७९ प्रतिशतले बढी हो ।
कम्पनीले स्टेलान्टिससँगको संयुक्त उपक्रम ‘लिपमोटर इन्टरनेसनल’ मार्फत चीनबाहिर आफ्नो व्यवसाय विस्तार गरिरहेको छ । विशेषगरी चार्जिङ पूर्वाधार पर्याप्त नभएका बजारमा ईआरईभी प्रविधिलाई प्राथमिकता दिँदै आएको कम्पनीले अर्जेन्टिनामा बी१० र सी१० एसयूभी पनि सार्वजनिक गरिसकेको छ ।
यसैगरी, इन्डोनेसियामा इन्डोमोबिल ग्रुपसँगको सहकार्यमा लिपमोटरले नक डाउन एसेम्ब्ली सुरु गरेको छ । यसबाट कम्पनीले विदेशी बजारमा स्थानीय उत्पादन क्षमता समेत विस्तार गरिरहेको छ ।
लिपमोटरले सन् २०२६ मा विश्वभर १० लाख सवारी बिक्री गर्ने वार्षिक लक्ष्य राखेको छ । कम्पनीका अनुसार पहिलो आठ महिनामै ५ लाख ६० हजारभन्दा बढी गाडी ग्राहकलाई डेलिभरी गरिसकिएको छ ।