मोटर स्पोट्र्स नेपाल क्लबले यसपाली हुने नेपाल अटोमोबाइल्स एसोसिएसन नासाको बहुप्रतिक्षित कार्यक्रम ‘नेपाल रोड रेसिङ च्याम्पियनशिप २०२६’ को लागि दर्ता खुलाएको छ ।
नेपालमा स्पोट्र्सको प्रवद्र्धन र युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा सहभागि हुन चाहने राइडरहरूले यही २०२६ सेम्टेम्बर ११ देखि २० (भाद्र २६ देखि आश्विन ४ गते) सम्म दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । सो कार्यक्रम दर्ता गर्न चाहने राइडरहरूसँग ‘नासा नेपाल स्पोट्र्स लाइसन’ अनिवार्य हुनुपर्ने पनि आयोजकले जानकारी गराएको छ ।
नेपाली मोटर स्पोट्र्सलाई नयाँ उर्जा र सम्भावनातर्फ अघि बढाउने विश्वास र युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले मोटर स्पोट्र्स क्लब नेपालले आगामी २०२६ अक्टोबर २ र ३ (आश्विन १७ र १८ गते) काठमाडौँको चण्डेश्वरी ड्राइभिङ स्कूलमा ‘नेपाल रोड रेसिङ च्याम्पियनशिप २०२६’ आयोजना गर्ने भएको छ ।
दुई दिनसम्म चल्ने यस भव्य प्रतियोगितामा नेशनल, नोभिस गरी दुई मुख्य विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरका ५० भन्दा बढी व्यावसायिक तथा नवोदित राइडरहरूले आफ्नो कौशलता प्रदर्शन गर्ने अपेक्षा गरिएका छ । कार्यक्रम स्थलमा विभिन्न फुड स्टलहरू (विशेष गरी बिर्यानी पार्टनर) र ब्रान्डिङ जोनहरूको व्यवस्था गरिने बताइएको छ ।
नेपालमा सुरक्षित र व्यावसायिक रेसिंग कल्चरको विकास गर्न यो इभेन्ट एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने मोटर स्पोट्र्स क्लब नेपालका अध्यक्ष सर्जल वैधले बताएका छन ।
प्रतियोगिताको पहिलो दिन अभ्यास र छनोट चरण हुनेछ भने दोस्रो दिन फाइनल प्रतिस्पर्धा र पुरस्कार वितरण समारोह आयोजना गरिने आयोजक मोटर स्पोट्र्स क्लब नेपालले जनाएको छ ।