फक्सवागनको पुनर्संरचनामा डुकाटी पनि, बिक्रीको सम्भावना खोजिँदै

काठमाडौं । फक्सवागन ग्रुपले आफ्नो व्यवसायलाई पुनर्संरचना गर्ने योजनाअन्तर्गत इटालियन प्रिमियम मोटरसाइकल निर्माता डुकाटीको स्वामित्वबारे पुनर्विचार गर्न थालेको छ । समूहले डुकाटीलाई बिक्री गर्ने सम्भावनासमेत मूल्यांकन गरिरहेको हो ।

फक्सवागनको औडी ब्रान्डका प्रमुख कार्यकारी अधिकृत गेर्नोट डोलनरले समूहको समग्र पोर्टफोलियोको समीक्षा भइरहेका बेला डुकाटीको भविष्यबारे पनि छलफल भइरहेको जानकारी दिएका छन् । उनका अनुसार डुकाटी बिक्री गर्ने विषयमा भने अहिलेसम्म कुनै ठोस निर्णय लिइएको छैन ।

डोलनरले फक्सवागन ग्रुपले व्यवसायिक पोर्टफोलियोलाई जिम्मेवार र अनुशासित ढंगले व्यवस्थापन गर्ने नीति लिएको बताएका छन् । यही प्रक्रियाअन्तर्गत डुकाटीलाई पनि मूल्यांकन गरिने भए पनि अहिले नै बिक्रीसम्बन्धी निष्कर्षमा पुगिनसकेको उनको भनाइ छ ।

सन् २०१२ मा फक्सवागन ग्रुपको औडी डिभिजनमा समावेश भएको डुकाटी अहिले समूहले पुनरावलोकन गरिरहेका करिब ६०० व्यवसायिक एकाइमध्ये एक बनेको छ ।

फक्सवागनले आफ्नो सञ्चालन लागत कम गर्ने र मुख्य कार व्यवसायमा थप केन्द्रित हुने उद्देश्यले सहायक कम्पनी तथा अन्य व्यवसायिक स्वामित्वको संख्या घटाउने योजना अघि सारेको छ । समूहले यस्ता एकाइको संख्या करिब एक तिहाइसम्म कटौती गर्ने लक्ष्य राखेको छ ।

डुकाटी बिक्री गर्ने निर्णय भएमा त्यसपछि उक्त प्रतिष्ठित मोटरसाइकल ब्रान्डको नयाँ स्वामित्व कसले लिने भन्ने विषयले अटोमोबाइल तथा मोटरसाइकल उद्योगमा थप चासो बढाउने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *