– लायन मिलन थापा
हामी आफै पनि अझै पीडामै छौँ। एक वर्ष पुग्दै छ, त्यो कहाली लाग्दो दिन, भाद्र २४ गते….
त्यो बेला खरानी भएको घर अझै पुनर्निर्माण भइसकेको छैन। साथीले दिएको उही अपार्टमेन्ट कै बास छ।
तथापि आफू जे जस्तो अवस्था भएपनि मानवीय संवेदना भने कहिले नमर्ने रहेछ, सेवाको भावना कतै नजाने रहेछ।
यसैले आफ्नो पीडालाई एकातिर पन्छाउँदै हामीभन्दा पनि अझै ठूलो विपदमा परेका समुदाय तथा परिवारका लागि केही गरौं भन्ने उद्देश्य राखि ‘राहतमा हाम्रो पनि थोरै साथ’ सहित विपद प्रभावित क्षेत्रमा आफै पुगेर प्रत्यक्ष रूपमा केही सहयोग गरेका छौं।

यो सहयोग हामीले कुनै उद्देश्य प्राप्तिका लागि गरेका छैनौँ। सामाजिक सञ्जालहरूमा यदाकदा केही स्टाटस तथा कमेन्टहरू देख्दा दुःख लाग्छ।
हामीले अहिले मात्र होइन विगतमा पनि, २०७२ सालमा देशमा महाभूकम्प जाँदा तत्कालीन समयमा पीडितहरूको उद्धार कार्यमा तत्काल सहयोग पुगोस् भन्ने हेतुले तीनवटा जिल्लाका लागि झन्डै एक करोड रुपैयाँ बराबरको तीनवटा एम्बुलेन्सहरू प्रदान गरेका थियौँ भने कोभिड महामारीको समयमा पनि निःशुल्क सञ्चालनका लागि विभिन्न संघसंस्थाहरूलाई ४ वटा सबवाहन तथा एम्बुलेन्सहरू प्रदान गरिएको कुरा स्मरण गराउन चाहन्छौँ।

अहिलेको विपदमा पनि हाम्रो पनि साथ रहोस् भन्ने उद्देश्यले हाम्रो आफ्नो कम्पनीहरू Maxus Nepal तथा Himalaya Organization को तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु ५० लाखको चेक माननीय अर्थमन्त्री स्वर्णिम वाग्ले ज्यूलाई केही दिनअघि नै हस्तान्तरण गरिसकेका छौं।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालको समन्वयमा, करिब ३० लाख बराबरको विपद प्रभावितहरूका लागि स्वच्छ खानेपानीका निमित्त नुवाकोट त्रिशुलीका दुईवटा अस्थायी आश्रय स्थलहरू, भैरूम माध्यमिक विद्यालय र त्रिशुली प्राथमिक विद्यालयमा Water Treatment Plant जडान गरेका छौँ।

सौर्य ऊर्जामा आधारित उक्त Water Treatment Plant ले प्रति घण्टा १,००० लिटर पानी शुद्धीकरण गर्ने क्षमता राख्दछ।
यस plant को जडानले अहिले तत्कालका लागि सो होल्डिङ सेल्टरहरूमा रहेका विपत प्रभावित समुदायलाई स्वच्छ खानेपानीको व्यवस्था हुनेछ भने दीर्घकालीन रुपमा त्यसै स्कुलमा पढ्ने विद्यार्थीहरू लावान्वित हुन सक्नेछन्।

यसका साथै सो आश्रय स्थलहरूमा रहनुभएका तथा वरपरका घरहरूमा आश्रय लिएर बस्नुभएका अन्य केही विपत प्रभावित परिवारहरूलाई समेत आधारभूत आवश्यकताका सामग्रीहरु वितरण गरेका छौँ।

