काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि आयोजित सांगीतिक कार्यक्रमबाट ४ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । पीआरभी इन्टरटेनमेन्टले एक्सिस ब्यान्डसँगको सहकार्यमा त्रिसरा रेस्टुरेन्टमा आयोजना गरेको कार्यक्रमबाट ४ लाख ९ हजार ६३७ रुपैयाँ संकलन भएको हो ।
संकलित सम्पूर्ण रकम भोटेकोशी राहत कोषमा हस्तान्तरण गरिएको पीआरभी इन्टरटेनमेन्टले जनाएको छ । बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत र सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागी दर्शक तथा अतिथिबाट प्राप्त टिकट रकम, सहयोग तथा विभिन्न संस्था र व्यवसायबाट प्राप्त योगदानबाट उक्त रकम जुटाइएको हो ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले घर, सडक, पुल, आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो । बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत आवश्यक रहेको अवस्थामा सांगीतिक कार्यक्रममार्फत सहयोग जुटाइएको आयोजकले जनाएको छ ।
राहत संकलन अभियानमा हिमालयन प्रोडक्सन, रोटेपिङ इन्टरटेनमेन्ट, वावा’ज, लिक्विड मोली, पौडेल इन्टरप्राइजेज, रोटरी क्लब अफ भिजन काठमाडौं, फोनपोइन्ट्स, डोको टुर्स, समारा ट्रेडर्स इन्टरप्राइजेज, लाइभ सोलुसन, इसेवा, लेजेन्डरी मोटर्स हब तथा अनिग्राफी स्टुडियोले सहयोग गरेका थिए ।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, दर्शक, संस्था, व्यवसाय, स्वयंसेवक तथा अन्य सबैप्रति आभार व्यक्त गरेको छ । साथै, मानवीय तथा विपद्का समयमा सामूहिक पहलमार्फत प्रभावित समुदायलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।