बीवाईडीको फ्ल्यास चार्जिङ नेटवर्क १० हजार नाघ्यो

बीवाईडीले आफ्नो अल्ट्रा–फास्ट फ्ल्यास चार्जिङ नेटवर्क विस्तारलाई तीव्र बनाएको छ। कम्पनीले चीनमा फ्ल्यास चार्जिङ स्टेसनको संख्या १० हजारभन्दा बढी पुर्‍याएको हो। कम्पनीले अगस्ट २८ मा चीनको शेन्जेनमा आफ्नो १० हजारौँ फ्ल्यास चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको जनाएको छ।

बीवाईडीले सन् २०२६ को अन्त्यसम्म फ्ल्यास चार्जिङ स्टेसनको संख्या २० हजार पुर्‍याउने लक्ष्य राखेको छ। चीनमा नेटवर्क विस्तारलाई प्राथमिकता दिएको कम्पनीले त्यसपछि यही अल्ट्रा–फास्ट चार्जिङ प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्ने योजना बनाएको छ।

बीवाईडीको फ्ल्यास चार्जिङ प्रविधिको मुख्य आकर्षण यसको उच्च चार्जिङ क्षमता हो। कम्पनीका अनुसार यस प्रणालीले अधिकतम १ हजार ५०० किलोवाटसम्मको चार्जिङ पावर उपलब्ध गराउन सक्छ। यो क्षमता अहिले प्रयोगमा रहेका अधिकांश सार्वजनिक विद्युतीय सवारीसाधन चार्जरको तुलनामा निकै उच्च हो।

कम्पनीको दाबीअनुसार फ्ल्यास चार्जरबाट उपयुक्त सवारीसाधनको ब्याट्रीलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म करिब ५ मिनेटमै चार्ज गर्न सकिन्छ। त्यस्तै, १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न करिब ९ मिनेट लाग्ने बताइएको छ।

तर अत्यधिक चिसो मौसममा विद्युतीय सवारीसाधनको ब्याट्री चार्जिङ गति घट्न सक्छ। कम तापक्रममा ब्याट्रीभित्र हुने रासायनिक प्रतिक्रिया सुस्त हुने भएकाले यस्तो अवस्थामा चार्जिङ समय बढ्ने गर्छ। बीवाईडीले भने आफ्नो फ्ल्यास चार्जिङ प्रविधिले अत्यधिक चिसो अवस्थामा समेत उच्च चार्जिङ गति कायम राख्न सक्ने दाबी गरेको छ।

कम्पनीका अनुसार माइनस ३० डिग्री सेल्सियससम्मको तापक्रममा गरिएको परीक्षणमा फ्ल्यास चार्जिङको समय सामान्य अवस्थाको तुलनामा करिब ३ मिनेट मात्र बढी देखिएको थियो।

बीवाईडीको फ्ल्यास चार्जिङ नेटवर्क कम्पनीका आफ्नै सवारीसाधनमा मात्र सीमित भने छैन। कम्पनीका अनुसार हालसम्म यस नेटवर्कमार्फत २१ करोड किलोवाट–आवरभन्दा बढी विद्युत वितरण भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *