हुन्डाईले २०३० सम्म भारतमा २६ नयाँ मोडल ल्याउने

हुन्डाईले भारतीय बजारमा सन् २०३० सम्ममा २६ वटा नयाँ मोडल सार्वजनीक गर्ने तयारी गरेको छ। सो योजनाअन्तर्गत सन् २०२७ सम्ममा ४ वटा मा नयाँ मोडल बजारमा ल्याउने अपेक्षा गरिएको हो।

हुन्डाईले ल्याउन लागेको नयाँ मोडलमध्ये पहिलो गाडी कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुने अनुमान गरिएको छ। यसलाई एचई१आई कोडनेमबाट चिनिन सक्ने अनुमान गरिएको छ। सो एसयूभी सन् २०२६ को चौथो त्रैमासिकमा लन्च हुन सक्ने सम्भावना छ।

सो इलेक्ट्रिक एसयूभीमा ९.९ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र एन्ड्रोइड अटोमोटिभ अपरेटिङ सिस्टममा आधारित ठुलो १२.९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुन सक्नेछ। सेफ्टीका लागि यसमा लेभल–२ एडास पनि समावेश हुने अपेक्षा गरिएको छ।

त्यसपछि हुन्डाईले नयाँ बी–सेग्मेन्ट एसयूभी लन्च गर्ने तयारी गरेको छ। सो एसयूभी सेप्टेम्बरसम्ममा लन्च हुने अनुमान गरिएको छ । सो एसयूभी करिब ४.२ मिटर लामो हुने अनुमान गरिएको छ । यसले मारुती सुजुकी भिक्टोरिस एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ। यसमा १.५ लिटरको पेट्रोल इन्जिन उपलब्ध हुन सक्नेछ भने पेट्रोलसँगै सीएनजी विकल्पमा पनि ल्याउने सम्भावना रहेको छ।

हुन्डाईको अर्को ठुलो तयारी तेस्रो पुस्ताको क्रेटाका लागि रहेको छ। नयाँ पुस्ताको क्रेटा सन् २०२७ को मध्यसम्ममा भारतीय बजारमा लन्च हुन सक्ने अनुमान गरिएको छ। नयाँ क्रेटाको लम्बाइ करिब ४.४ मिटर र ह्विलबेस करिब २.७ मिटर हुन सक्ने अनुमान गरिएको छ।

यसैगरी हुन्डाईले चौथो पुस्ताको आई१० पनि विकास गरिरहेको छ। नयाँ पुस्ताको आई१० सन् २०२७ को चौथो त्रैमासिकमा लन्च हुन सक्ने अनुमान गरिएको छ। नयाँ मोडलमा पेट्रोल तथा पेट्रोल–सीएनजी इन्जिन विकल्प उपलब्ध हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *