दोस्रो पुस्ताको ब्लेड ब्याट्री अभावका कारण बीवाईडीको बिक्री प्रभावित

बीवाईडीले सन् २०२६ को पहिलो ६ महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरे अनुसार कम्पनीको कुल आम्दानी र खुद मुनाफामा गिरावट आएको छ ।समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३४४.८१५ अर्ब युआन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.१३ प्रतिशतले घटी हो । त्यसैगरी शेयरधनीहरूलाई वितरणयोग्य खुद नाफा पनि २०.५४ प्रतिशतले घटेर १२.३२ अर्ब युआनमा सीमित भएको छ । कम्पनीले नाफामा आएको यो कमी विदेशी मुद्रा विनिमय दरको उतारचढावका कारण भएको स्पष्ट पारेको छ।

यस अवधिमा बीवाईडीले कुल १८.०८५ लाख युनिट सवारी साधन बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा १५.७२ प्रतिशतको गिरावट हो । कम्पनीका अध्यक्ष वाङ छानफुले बिक्रीमा आएको मुख्य संकुचनको कारण दोस्रो पुस्ताको ब्लेड ब्याट्रीको उत्पादन क्षमता अपर्याप्त हुनु र आपूर्ति श्रृंखलामा देखिएको समस्या भएको बताएका छन् ।

घरेलु बजारमा बिक्री घटे पनि बीवाईडीको विश्वव्यापी विस्तार भने निकै आक्रामक देखिएको छ । कम्पनीका अनुसार, पछिल्लो ६ महिनामा ७ लाख ९२ हजार सवारी साधन निर्यात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६७.८ प्रतिशतको उल्लेख्य वृद्धि हो ।

हाल कम्पनीको कुल बिक्रीमा वैदेशिक निर्यातको हिस्सा करिब ४४ प्रतिशत पुगेको छ । यसका साथै डेन्जा, फाङ चेङ बाओ र याङवाङ जस्ता बीवाईडी का उच्च स्तरीय प्रिमियम ब्रान्डहरूको बिक्री ६१ प्रतिशतले बढेर २ लाख २८ हजार युनिट पुगेको छ ।

घरेलु चुनौतीका बाबजुद कम्पनीले यस वर्ष १५ लाख युनिट निर्यातको वार्षिक लक्ष्य सहजै पार गर्ने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *