बाढी प्रभावितको उद्धार र उपचारमा सहयोग गर्न नेसनल प्याब्सनको अपिल

काठमाडौं । भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बाढीका कारण भएको जनधनको क्षतिप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले दुःख व्यक्त गरेको छ ।

चीनको तिब्बती भू–भागबाट आएको बाढीका कारण प्रभावित क्षेत्रमा ठूलो क्षति भएपछि नेसनल प्याब्सनले उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेको हो ।

नेसनल प्याब्सनका अध्यक्ष गीता क्षेत्री राणा र महासचिव प्रतापबहादुर थापाले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । घाइतेहरूको तत्काल उद्धार गरी आवश्यक उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइएको छ ।

विपद्बाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउन नेसनल प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूलाई स्थानीय सरकार तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ । विद्यालयहरूले आफ्नो क्षमताअनुसार उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

त्यसैगरी, घाइतेहरूको उपचारका लागि आवश्यक औषधि तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउनसमेत सदस्य विद्यालयहरूलाई अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *