काठमाडौं । ‘डाक्टर पोर्टल’मा आएको प्राविधिक समस्याका कारण इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्रसँग जोडिएको स्वास्थ्य परीक्षण सेवा अवरुद्ध भएको छ ।
कार्यालयले जारी गरेको सूचनाअनुसार भदौ ४ गतेदेखि पोर्टलमा समस्या देखिएपछि सेवाग्राहीको निरोगिता परीक्षण प्रक्रिया अघि बढ्न सकेको छैन ।
स्वास्थ्य परीक्षण पूरा गर्नुपर्ने नयाँ लाइसेन्स आवेदन, नवीकरण, प्रतिलिपि तथा थप दर्तासहितका काम प्रभावित भएका छन् । पोर्टल सञ्चालनमा नआएसम्म यी प्रक्रियासँग सम्बन्धित स्वास्थ्य परीक्षण सेवा उपलब्ध नहुने कार्यालयले जनाएको छ ।
प्राविधिक समस्या समाधान गरी प्रणाली सञ्चालनमा आएलगत्तै स्वास्थ्य परीक्षण सेवा पुनः नियमित गरिने कार्यालयको भनाइ छ ।
सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई परेको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ ।