किन बढ्दैछ विश्व बजारमा कारको मूल्य ?

विश्व अटोमोबाइल उद्योगले कच्चा पदार्थको मूल्यवृद्धि, ऊर्जा तथा ढुवानी लागतमा भएको वृद्धिको कारण देखाउँदै मूल्य बढाउन थालेका छन् । अझ सेमिकण्डक्टर अभाव निरन्तर रहेको कारण देखाउँदै कारको मूल्य थप महँगो हुने अनुमानहरू बाहिर आएका छन् ।

इरानमा जारी युद्धका कारण तेल तथा ऊर्जा मूल्य बढ्दा उत्पादनदेखि ढुवानीसम्मको लागत महँगिएको छ । त्यसमाथि प्लास्टिक, आल्मुनियम, स्टिल, तामा र विद्युतीय चिप्सको मूल्य बढ्दा गाडी उत्पादनको लागत थप उकालो लागेको हो ।

आपूर्ति श्रृंखला चीन र मेक्सिको जस्ता कम लागत भएका बजारबाट अन्यत्र सार्नुपर्ने दबाबसँगै बढ्दो संरक्षणवादी व्यापार नीतिले पनि पश्चिमा अटोमोबाइल कम्पनीहरू दबाबमा छन् ।

फ्रान्सेली कार निर्माता रेनोले चालु वर्षको दोस्रो अर्धवार्षिकमा कच्चा पदार्थको मूल्यवृद्धि र मुद्रास्फीतिका कारण थप ४० करोड युरो बढी खर्च गर्नुपर्ने अवस्था आएको जनाएको छ । कम्पनीका प्रमुख वित्तीय अधिकारी डंकन मिन्टोले कच्चा पदार्थको मूल्यवृद्धि अस्थायी उछाल नभई दीर्घकालीन प्रवृत्ति बन्न थालेको बताए ।

स्टेलान्टिसले पनि दोस्रो अर्धवार्षिकमा करिब १ अर्ब युरो अतिरिक्त लागत थपिने जनाएको छ । कम्पनीले कच्चा पदार्थको मूल्यवृद्धिका कारण उत्तर अमेरिकामा सवारीसाधनको मूल्य बढाउनुपर्ने संकेत गरेको छ ।

यता, विद्युतीय सवारीसाधनमा समेत महत्वपूर्ण मानिने मेमोरी चिपको माग बढ्दा अटो उद्योग थप दबाबमा परेको छ । कृत्रिम बौद्धिकतामा आधारित डाटा केन्द्रको विस्तारसँगै मेमोरी चिपको माग तीव्र बढेको छ । प्रविधि कम्पनीहरूले चिपका लागि अटोमोबाइल कम्पनीभन्दा बढी मूल्य तिर्न थालेकाले सवारीसाधन उत्पादकले आवश्यक चिप पाउन कठिन भइरहेको विश्लेषकहरू बताउँछन् ।

टोयोटाले कच्चा पदार्थको मूल्यवृद्धि र आपूर्ति शृंखला मजबुत बनाउन लाग्ने खर्चका कारण चालु आर्थिक वर्षमा करिब ७ अर्ब युरो बराबरको अतिरिक्त लागत पर्ने अनुमान गरेको छ । कम्पनीले त्यसको करिब आधा हिस्सा सवारीसाधनको मूल्य समायोजनमार्फत उठाउने जनाएको छ ।

यससँगै आपूर्तिकर्ता कम्पनीहरू टाट पल्टिदैँ गएको कारण समस्या थप जटिल बन्दै गएको छ । विश्व अटो उद्योगमा एकपछि अर्को आपूर्ति अवरोध थपिँदा उत्पादन लागत मात्र नभई सवारीसाधनको उपलब्धतामा समेत असर पर्ने जोखिम बढेको छ ।

विश्लेषकहरूका अनुसार अहिलेको चुनौती कुनै एक संकटको परिणामभन्दा पनि युद्ध, व्यापार संरक्षणवाद, चिप अभाव, कच्चा पदार्थको मूल्यवृद्धि र आपूर्ति शृंखलाको अवरोध एकैपटक देखिनु हो । त्यसैले आगामी दिनमा उत्पादकले बढेको लागतको केही हिस्सा उपभोक्तामाथि सार्ने सम्भावना उच्च छ ।

नेपालमा भने अचम्मको प्राइसवार चलिरहेको छ । एउटा कम्पनीले ल्याएको नयाँ मोडलसँग प्रतिस्पर्धा गर्ने नयाँ मोडल आउँदा कम मूल्य कायम नै राखेर जानु पर्ने दबाबमा नेपाली ब्यवसायी छन् ।

चीनबाट आयात गर्ने उत्पादन धेरै बिक्री गर्ने दबाब र होड अहिले बजारमै मज्जैले चलेको छ । नयाँ गाडीमा उच्च प्रतिस्पर्धा भएपनि उच्च मूल्यमा स्पेयर किन्नु पर्ने अवस्था रहँदा सस्तोमा गाडी किन्न पाइए पनि बनाउँदा चर्को मूल्य तिर्नु पर्ने अवस्थामा उपभोक्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *