काठमाडौं । आरजेडएम ब्रान्डका विद्युतीय सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनी प्रालिले भक्तपुरको मनोहरामा अत्याधुनिक सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ।
कम्पनीले मनोहरास्थित राठी अटो वर्क्ससँगै राठी चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको हो। शाङच मोटर्सका इन्टरनेसनल जनरल म्यानेजर केन सुन र राठी ट्रेडिङ कम्पनीका अध्यक्ष दिनेश कुमार राठीले संयुक्त रूपमा सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्कको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा केन सुनले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले गुणस्तरीय ईभी उपलब्ध गराउनुका साथै बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स र चार्जिङ पूर्वाधारलाई समेत प्राथमिकतामा राखिएको बताए।
राठी ट्रेडिङका अध्यक्ष दिनेश कुमार राठीले ग्राहकलाई सवारी बिक्रीपछि पनि सहज र भरपर्दो सेवा उपलब्ध गराउनु कम्पनीको मुख्य जिम्मेवारी भएको बताए। उनका अनुसार आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउने तथा चार्जिङ पूर्वाधार विस्तार गर्ने उद्देश्यले सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा ल्याइएको हो।
कम्पनीका सीईओ मनोज खतिवडाले ईभीको प्रयोग बढेसँगै बिक्रीपछिको सेवामा चार्जिङ पूर्वाधारको भूमिका महत्वपूर्ण हुने बताए। सोहीअनुसार कम्पनीले देशका विभिन्न स्थानमा सर्भिस तथा चार्जिङ नेटवर्क विस्तार गरिरहेको उनको भनाइ छ।
एकैपटक १२ ईभी चार्ज गर्न सकिने
मनोहरास्थित सर्भिस सेन्टरमा एकैपटक १२ वटा विद्युतीय सवारीसाधन चार्ज गर्न सकिने व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसारका चार्जिङ सुविधासहित यहाँ सर्भिसिङ, चार्जिङ र वासिङलगायत सेवा एकै स्थानबाट लिन सकिने कम्पनीले जनाएको छ।
सेन्टरमा पर्याप्त पार्किङ, ग्राहकका लागि बस्ने स्थान तथा क्याफेको व्यवस्था गरिएको छ। सवारीसाधनको सर्भिसिङ भइरहेका गतिविधि ग्राहकले प्रत्यक्ष हेर्न सक्ने व्यवस्था समेत गरिएको कम्पनीको भनाइ छ।
सर्भिसिङका लागि आवश्यक स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स तथा इलेक्ट्रिकल पार्ट्सको स्टक राखिएको छ। सामान्य पार्ट्स देशका जुनसुकै स्थानमा ४८ घण्टाभित्र र अन्य पार्ट्स ७२ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
देशभर चार्जिङ नेटवर्क विस्तारको योजना
राठीले काठमाडौंमा ४८० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यो नेपालमा उपलब्ध तीव्र चार्जिङ स्टेसनमध्ये एक हो। यस्तै, नवलपरासीको गैँडाकोटमा ६४० किलोवाट क्षमताको चार्जिङ स्टेसनसमेत सञ्चालनमा ल्याइएको छ।
कम्पनीले चालु वर्षभित्रै देशका प्रमुख सहरलाई समेट्दै पूर्वदेखि पश्चिमसम्म चार्जिङ नेटवर्क विस्तार गर्ने योजना बनाएको छ। प्रत्येक आवश्यक सुविधासहित ४ मेगावाट क्षमताका चार्जिङ स्टेसन विस्तार गर्ने र तिनलाई ‘वान स्टप सोलुसन’ का रूपमा विकास गर्ने कम्पनीको योजना छ।
दुई मोडलका आरजेडएम ईभी भ्यान
राठी ट्रेडिङले हाल शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ई५ र आर५ गरी दुई मोडलका विद्युतीय भ्यान नेपाली बजारमा बिक्री गर्दै आएको छ।
आरजेडएम ई५ मा ५३.५ किलोवाट आवर क्षमताको सीएटीएल थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ। यसले डब्लुएलटीपी मापदण्डअनुसार एकपटक चार्जमा करिब ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
आर५ मा ७७.२८ र ८६.५५ किलोवाट आवरका दुई ब्याट्री विकल्प छन्। यी संस्करणले क्रमशः ३३० र ४०० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ। ६० किलोवाटको चार्जर प्रयोग गर्दा आर५ करिब ४५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
आरजेडएमका ईभी भ्यानमा १८० एमएम ग्राउन्ड क्लियरेन्स, बकेट सिट, इलेक्ट्रिक पार्किङ ब्रेक, चारै चक्कामा डिस्क ब्रेक, अटो होल्ड, हिल असिस्ट, पावरफुल एसी, ६४ इन्चको इन्टेरियर हाइट, डायमन्ड कट अलोय ह्विल, स्पेयर ह्विल तथा अन्डरबडी प्रोटेक्सनलगायतका सुविधा रहेका छन्।
कम्पनीका अनुसार नेपाली सडकको अवस्था र प्रयोगलाई ध्यानमा राखेर परीक्षण तथा सुधार गरिएकाले आरजेडएमका विद्युतीय भ्यानप्रति ग्राहकको चासो बढेको छ। आरजेडएमले ब्याट्रीमा ७ वर्ष वा ४ लाख किलोमिटर तथा मोटरलगायत अन्य प्रमुख भागमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ।