नेपालको बहुप्रतीक्षित व्यावसायिक अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने ६ दिने प्रदर्शनीमा साना तथा ठूला गरी २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यस वर्षको १८औँ संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा भव्यरूपमा आयोजना गर्न लागिएको हो।
करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा नेपालमा तीव्र रूपमा विकसित भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका उत्पादन, प्रविधि, सेवा तथा नवप्रवर्तनलाई एउटै मञ्चमा प्रस्तुत गरिनेछ।
आयोजकका अनुसार प्रदर्शनीमा २४ ब्रान्डका पेसेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारी, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक सहभागी हुनेछन्। त्यस्तै, अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायत अटोमोबाइलसम्बन्धी उत्पादन तथा सेवा प्रदर्शनी गर्ने करिब ७० स्टल रहनेछन्।
प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधनका साथै लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्रीसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ। नाडा अटो शोको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउँदै उपभोक्ता तथा आगन्तुकलाई बजारमा उपलब्ध नवीनतम सवारीसाधन, प्रविधि र नवप्रवर्तनको प्रत्यक्ष अनुभव प्रदान गर्नु रहेको छ।
साथै, प्रदर्शनीले अटोमोबाइल क्षेत्रबारे जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको विकासमा योगदान पुर्याउने अपेक्षा आयोजकको रहेको छ।
प्रदर्शनीमा सहभागी अटोमोबाइल कम्पनीहरूले आफ्ना नवीनतम सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्दै ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर प्राप्त गर्नेछन्। १८औँ संस्करणको नाडा अटो शो २०२६ को शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ।