धनगढीमा टाटा मोटर्सको बीएस६ बस च्यासिस सार्वजनिक

काठमाडाैं। सार्वजनिक यातायातमा नयाँ प्रविधिको प्रयोग बढिरहेका बेला टाटा मोटर्सले बीएस६ प्रविधियुक्त बस च्यासिस सुदूरपश्चिममा ल्याएको छ। नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धनगढीमा कार्यक्रम आयोजना गरी विभिन्न क्षमताका बीएस६ बस च्यासिस यातायात व्यवसायीमाझ प्रस्तुत गरेको हो।

कार्यक्रममा ८ देखि १२ मिटरसम्मका विभिन्न क्षमताका बस च्यासिस प्रदर्शन गरिएको थियो। शहरी तथा छोटो दूरीका यात्राका लागि डे बस र लामो दूरीको यात्रालाई लक्षित नाइट बसका मोडल व्यवसायीलाई देखाइएको थियो।

सिप्रदीका अनुसार नयाँ बीएस६ च्यासिसको मुख्य उद्देश्य कम इन्धन खपत, न्यून प्रदूषण र उच्च कार्यक्षमतामार्फत सार्वजनिक यातायात सञ्चालनलाई थप प्रभावकारी बनाउनु हो। च्यासिसमा SCR (Selective Catalytic Reduction) र ATS (After Treatment System) जस्ता उत्सर्जन नियन्त्रण प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ।

सिप्रदी ट्रेडिङका उत्पादन प्रबन्धक इन्द्रमणि पोखरेलले बीएस६ च्यासिसमा शक्तिशाली इन्जिन, उच्च टर्क, कम आवाज तथा कम्पन, मजबुत च्यासिस र उन्नत ब्रेकिङ प्रणाली उपलब्ध रहेको बताए। डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सहज डायग्नोस्टिक प्रणाली तथा कम मर्मत खर्चले व्यवसायीको सञ्चालन लागत घटाउन सहयोग पुग्ने उनको दाबी छ।

बीएस६ प्रविधिमा आधारित सवारी सञ्चालनका लागि आवश्यक पक्षबारे पनि कार्यक्रममा जानकारी दिइएको थियो। विशेषगरी AdBlue को उचित प्रयोग, इन्धन बचत, सुरक्षित ड्राइभिङ र नियमित मर्मतसम्भारबारे चालक तथा व्यवसायीलाई जानकारी दिइएको थियो।

सिप्रदीले बीएस६ प्रविधिको प्रभावकारी सञ्चालनका लागि चालक प्रशिक्षणलाई समेत प्राथमिकता दिएको जनाएको छ। कम्पनीले यसअघि पनि विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा देशका अन्य क्षेत्रमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सुदूरपश्चिमका सहसंयोजक टेकराज जोशी प्रमुख अतिथि तथा सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले बीएस६ च्यासिसको प्राविधिक पक्षबारे जानकारी लिनुका साथै प्रत्यक्ष अवलोकन गरेका थिए। उनीहरूले नयाँ प्रविधिले सार्वजनिक यातायातको सेवा गुणस्तर सुधार गर्नुका साथै इन्धन बचत र वातावरण संरक्षणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा सिप्रदी ट्रेडिङको व्यवस्थापन तथा बिक्री विभागका दीपेन्द्र चन्दको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *