काठमाडौं । चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी डोङफेङका बस नेपालमा सार्वजनिक हुने भएका छन्। हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो एक्स्पोमा डोङफेङका बस सार्वजनिक गर्न लागेको हो।
कम्पनीका अनुसार एक्स्पोमा डोङफेङका दुईवटा बस मोडल सार्वजनिक गरिनेछ। ७.२ मिटर लम्बाइका ती बसमा २६ देखि ३० जनासम्म यात्रु अट्ने क्षमता रहेको छ।
नेपालमा ठूला विद्युतीय बसको माग बढ्दै गएको र सरकारले पनि ठूला विद्युतीय बसलाई प्राथमिकतामा राख्ने नीति अघि बढाइरहेको अवस्थामा डोङफेङका बस नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ।
डोङफेङ मोटर कर्पोरेसन चीनको ठूलो अटोमोबाइल उत्पादकमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी तथा विभिन्न अटोमोबाइल पार्टपुर्जा उत्पादन गर्दै आएको छ।
पाँच दशकभन्दा लामो अनुभव रहेको डोङफेङले गुणस्तर, विश्वसनीयता, सुरक्षा र नवीन प्रविधिका कारण अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाएको कम्पनीको दाबी छ। हाल डोङफेङका उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन्। नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस बिक्री हुँदै आएका छन्।
हिमालयन अर्गनाइजेशनअन्तर्गतका कम्पनीहरूले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआईसी ग्रुपअन्तर्गतको म्याक्ससका सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा काम गर्दै आएका छन्।
कम्पनीले निकट भविष्यमै डोङफेङका ३८ र ५२ सिट क्षमताका ९ तथा १२ मिटर लम्बाइका बससमेत नेपाल ल्याउने तयारी भइरहेको जनाएको छ।
डोङफेङका बसको मूल्य तथा अन्य प्राविधिक विवरण नाइमा अटो एक्स्पोमै सार्वजनिक गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एक्स्पोमा सार्वजनिक गरिने बसहरू नेपालमा उपलब्ध अन्य कम्पनीका समान प्रकृतिका बसको तुलनामा प्रतिस्पर्धी तथा कम मूल्यमा उपलब्ध गराउने तयारी गरिएको छ ।
यसले गर्दा डोङफेङका बसप्रति ग्राहकको चासो बढ्ने अपेक्षा कम्पनीको छ। साथै, एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको योजनासमेत ल्याउने तयारी गरिएको छ।
बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराउन हिमालयन अर्गनाइजेशनअन्तर्गतका विभिन्न कम्पनीका नेपालभर रहेका शाखा तथा डिलरमार्फत सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ।