ड्राइभिङ लाइसेन्सको नयाँ व्यवस्था : १७ स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य जाँच

काठमाडौं । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन प्रक्रिया अन्तर्गत स्वास्थ्य परीक्षण सूचीकृत स्वास्थ्य संस्था तथा स्वीकृत चिकित्सकबाट मात्रै गराउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

उद्योग, पर्यटन, श्रम, रोजगार तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमार्फत लाइसेन्सका लागि आवेदन दिने सेवाग्राहीले मन्त्रालयले तोकेका १७ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुपर्ने जनाएको हो।

यसअघि यातायात व्यवस्था विभागले गत असार ३२ गते सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका कुनै पनि चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन सकिने व्यवस्था मिलाउन आग्रह गरेको थियो।

तर विभागको उक्त निर्णयविरुद्ध सूचीकृत चिकित्सकहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन १२ गते अन्तिम फैसला नभएसम्म विभागको निर्णय कार्यान्वयन नगर्न तथा निवेदक चिकित्सकहरूको सेवा सञ्चालनमा कुनै अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चको आदेशलाई आधार मान्दै बागमती प्रदेश सरकारले साउन २० गते मन्त्रीस्तरीय निर्णयमार्फत अर्को व्यवस्था नभएसम्म प्रदेशले तोकेका सूचीकृत स्वास्थ्य संस्था तथा चिकित्सकबाट मात्रै स्वास्थ्य परीक्षण गराउनुपर्ने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार प्रदेशका सात वटा यातायात व्यवस्था कार्यालयका लागि छुट्टाछुट्टै गरी १७ वटा स्वास्थ्य संस्था सूचीकृत गरिएको छ। अब सेवाग्राहीले जुन यातायात कार्यालयबाट लाइसेन्सको आवेदन दिने हो, सोही कार्यालयका लागि तोकिएको स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गराउनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *