काठमाडौं । काठमाडौं उपत्यकामा आधुनिक मास ट्रान्जिट सार्वजनिक यातायात प्रणाली विकास गर्ने उद्देश्यसहित रत्नपार्कदेखि भक्तपुरसम्म १४.६ किलोमिटर लामो मेट्रोरेल निर्माणको प्रस्ताव गरिएको छ।
पूर्वाधार विकास मन्त्रालय र जापानी सहयोग नियोग (जाइका)ले संयुक्त रूपमा तयार पारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’ मा सन् २०५० सम्म बढ्ने यात्रुचापलाई ध्यानमा राख्दै उक्त मेट्रोरेल निर्माणलाई प्राथमिकतामा राखिएको हो।
गुरुयोजनाअनुसार काठमाडौं उपत्यकामा मास ट्रान्जिट प्रणाली सञ्चालनका लागि चक्रपथ, पूर्व–पश्चिम र उत्तर–दक्षिण गरी तीन प्रमुख रुट उपयुक्त देखिएका छन्। तीमध्ये पूर्व–पश्चिम रुट अन्तर्गत रत्नपार्क–भक्तपुर खण्डमा मेट्रोरेल सञ्चालन सबैभन्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ। यस आयोजनालाई पूर्व–सम्भाव्यता अध्ययनका लागि प्राथमिकता दिइएको छ।
प्रस्तावित १४.६ किलोमिटर रेलमार्गको केही भाग जमिनमाथि र केही भाग भूमिगत हुनेछ। विशेषगरी काठमाडौंको मुख्य सहरी क्षेत्र तथा जडीबुटी–कोटेश्वर खण्डमा भूमिगत (अन्डरग्राउन्ड) मेट्रो सञ्चालन गर्ने योजना समेटिएको छ।
मास्टर प्लानमा मेट्रोरेललाई विभिन्न स्थानमा बस र्यापिड ट्रान्जिट (बीआरटी) प्रणालीसँग एकीकृत गर्दै सुरक्षित, प्रभावकारी र सर्वसुलभ सार्वजनिक यातायात सेवा विकास गर्ने लक्ष्य राखिएको छ। चक्रपथ क्षेत्रमा बीआरटी सञ्चालनका लागि उच्च क्षमताका सार्वजनिक बसहरू छुट्टै समर्पित लेनमार्फत सञ्चालन गर्ने प्रस्ताव पनि गरिएको छ।
जाइकाले यसअघि सन् १९९३, २०१२ र २०१७ मा पनि काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि गुरुयोजना तयार पारेको भए पनि ती कार्यान्वयन हुन सकेका थिएनन्। यसपटक भने मन्त्रिपरिषद्बाट स्वीकृत गराई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जाइकाले जोड दिएको छ।
नयाँ मास्टर प्लानमा काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन तथा पूर्वाधार सुधारका लागि २२ वटा प्रमुख आयोजना प्रस्ताव गरिएका छन्। तीमध्ये भूमिगत सुरुङमार्ग, अन्डरपास, एलिभेटेड हाइवे तथा नयाँ नदी करिडोर निर्माणजस्ता परियोजनाहरू पनि समावेश छन्।