कल्भर्टमा ठोक्किएर मोटरसाइकल १५ फिट तल खस्यो, दुई जनाको मृत्यु

काठमाडाैं। सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना सोमबार राति हुलाकी सडकखण्डअन्तर्गत महादेवा गाउँपालिका–१ चिम्टीमा भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेका अनुसार पकरीबाट बथनाहातर्फ जाँदै गरेको स ०१–००६–प २४९६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको थियो। ठक्करपछि मोटरसाइकल सडकबाट करिब १५ फिट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक महादेवा गाउँपालिका–१ का ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शंकर राम गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो।

अस्पताल पुर्‍याउँदासम्म चालक सन्तोष रामको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका शंकर रामलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा मध्यराति उनको पनि मृत्यु भएको डीएसपी घिमिरेले जानकारी दिए।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *