काठमाडौं । ट्राफिक नियम बारम्बार उल्लंघन गर्ने चालकमाथि अब थप कडाइ गरिने भएको छ। सरकारले लागू गरेको राष्ट्रिय यातायात नीति–२०८३ ले चालकको ट्राफिक गतिविधिलाई डिजिटल रूपमा अभिलेख राख्दै जोखिममा आधारित व्यवस्थापन प्रणाली लागू गर्ने व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार स्मार्ट ड्राइभिङ लाइसेन्स प्रणालीसँग चालकको ट्राफिक उल्लंघनसम्बन्धी सम्पूर्ण विवरण जोडिनेछ। ओभरस्पीड, गलत ओभरटेक, रातो बत्ती उल्लंघन, मादक पदार्थ सेवन (मापसे), लागूऔषध सेवन (लापसे) गरी सवारी चलाएलगायतका उल्लंघनको विवरण चालकको डिजिटल अभिलेखमा सुरक्षित रहनेछ।
सरकारले यही अभिलेखका आधारमा चालकको जोखिम स्तर मूल्यांकन गर्नेछ। सुरक्षित रूपमा सवारी चलाउने चालकलाई प्रोत्साहनस्वरूप सहुलियत उपलब्ध गराउन सकिनेछ भने पटक–पटक नियम उल्लंघन गर्ने चालकमाथि कडा निगरानीसहित आवश्यक कारबाही गरिनेछ।
नीतिअनुसार गम्भीर वा दोहोरिने उल्लंघन गर्ने चालकको लाइसेन्स निलम्बन गर्न सकिने, पुनः तालिममा सहभागी गराउन सकिने वा पुनः परीक्षा दिनुपर्ने व्यवस्था समेत लागू गर्न सकिनेछ।
सरकारको विश्वास छ कि जोखिममा आधारित यो प्रणाली कार्यान्वयनमा आएपछि ट्राफिक नियम पालना गर्ने संस्कृतिको विकास हुनुका साथै लापरबाहीपूर्ण सवारी सञ्चालनमा कमी आई सडक दुर्घटना न्यूनीकरणमा समेत टेवा पुग्नेछ।