बीवाईडीको प्रवेशले जापानको ‘केई’ कार बजारमा ल्यायो तरंग

चिनियाँ अटो निर्माता कम्पनी बीवाईडी जापानको प्रतिस्पर्धात्मक र लोकप्रिय ‘केई’ कार बजारमा लन्च भएको छ । यसका लागि कम्पनीले जापानी बजारलाई नै लक्षित गर्दै पहिलोपटक विशेष रूपमा विकास गरिएको विद्युतीय मिनी कार ‘राक्को ईभी’ सार्वजनिक गरेको छ। यो बीवाईडीले कुनै एक देशका लागि मात्र डिजाइन र विकास गरेको पहिलो प्यासेन्जर भेइकल हो।

जापानमा ‘केई’ कारलाई सानो आकार, कम सञ्चालन खर्च र कर छुटका कारण अत्यधिक लोकप्रिय मानिन्छ। देशमा प्रत्येक वर्ष बिक्री हुने नयाँ सवारीमध्ये ३० प्रतिशतभन्दा बढी हिस्सा यही वर्गका सवारीको छ। यद्यपि, जापानका कडा मापदण्ड र सीमित आकारका कारण विदेशी कम्पनीले यस सेग्मेन्टमा प्रवेश गर्न निकै कठिन मानिन्थ्यो। बीवाईडीले भने जापानी बजारका आवश्यकतालाई ध्यानमा राख्दै नयाँ प्लेटफर्ममै आधारित ‘राक्को ईभी’ विकास गरेको बताएको छ । जापानी जनताको आग्रह बमोजिम नै कम्पनीले यो कार विकास गरेको बीवाईडीको भनाइ छ ।

‘राक्को’ एउटा समुद्री जीवको नाम हो । जापानमा दुर्लभ बन्दै गएको यो जीवको नामबाट प्रेरित भएर गाडीको नामकरण गरिएको कम्पनीले उल्लेख गरेको छ।

नयाँ राक्को ईभीको प्रारम्भिक मूल्य २१ लाख ५० हजार जापानी येन अर्थात करिब १३ हजार अमेरिकी डलर तोकिएको छ। यसका तीनवटा भेरियन्ट उपलब्ध हुनेछन्, जसमा उच्च भेरियन्टको मूल्य २५ लाख येन रहेको छ। शीर्ष भेरियन्टले एक पटकको पूर्ण चार्जमा ३२० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। यो हाल जापानमा बिक्री हुने केई श्रेणीका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै रेन्ज दिने मोडल बनेको छ।

फिचरका हिसाबले पनि बीवाईडीले यसलाई निकै प्रतिस्पर्धी बनाएको छ। परम्परागत केई कारभन्दा फराकिलो क्याबिन, बढी हेडरुम, स्लाइडिङ डोर, आधुनिक डिजाइन तथा सबै भेरियन्टमा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम ९एबीएस० लाई स्ट्यान्डर्ड रूपमा उपलब्ध गराइएको छ। कम्पनीका अनुसार सफ्टवेयर–केन्द्रित अवधारणामा विकास गरिएको यो विश्वकै पहिलो केई कार हो।

हाल जापानको केई ईभी बजारमा निसान साकुरा र होन्डा एन–वान ईः जस्ता मोडलको वर्चस्व छ। यी मोडलले सरकारी अनुदानसमेत पाउँदै आएका छन्। बीवाईडीका गाडीले हाल कम परिमाणको सरकारी अनुदान मात्र पाउने भए पनि कम्पनीले उत्कृष्ट रेन्ज, आधुनिक प्रविधि र सुविधामार्फत ग्राहक आकर्षित गर्ने रणनीति लिएको जनाएको छ। यस अनुसार निसान साकुराको मूल्य १८ लाख ७० हजार येन छ । बीवाईडीको मूल्य पनि अनुदान पश्चात २० लाख येन हुन आउछ ।

बीवाईडीले जापानमा सन् २०२३ देखि प्यासेन्जर कार बिक्री सुरु गरेको हो। चालु वर्षको पहिलो छ महिनामा कम्पनीले जापानमा २ हजार ३३४ वटा प्यासेन्जर कार बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी हो। अब ‘राक्को ईभी’ सार्वजनिक गरेसँगै कम्पनीले विशेषगरी ग्रामीण क्षेत्रमा आफ्नो बिक्री सञ्जाल विस्तार गर्ने योजना बनाएको छ।

जापाको केई कार बजारमा निसान, होन्डा र मित्सुबिसीको बर्चश्व छ । त्यसैगरी चीनको चेरी अटोमोबाइल्स र अन्य लगानीकर्ताहरुको संरक्षणमा रहेको ईएमटीएलले समेत अर्को वर्ष यस्तै कार लन्च गर्ने योजना बनाएको छ।

जापानमा विद्युतीय सवारीको बजार हिस्सा अझै करिब २ प्रतिशत मात्र रहेको अवस्थामा बीवाईडीको यो नयाँ मोडलले किफायती र साना विद्युतीय सवारीको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ। साथै, जापानकै सबैभन्दा प्रतिस्पर्धी मानिने ‘केई’ कार सेग्मेन्टमा विदेशी कम्पनीको प्रवेशले त्यहाँको अटोमोबाइल बजारमा नयाँ प्रतिस्पर्धाको सुरुवात हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *