अविरल वर्षाले आधादर्जन मुख्य राजमार्ग अवरुद्ध

बाढिपहिरोका कारण देशभरका आधादर्जन मुख्य सडक अवरुद्ध भएका छन् । बुधबार बिहानसम्म कोशी, बागमती र लुम्बिनी प्रदेशका ६ सडक अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै, ६ सडक एकतर्फी मात्र संचालनमा छन् ।

अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी गराएको छ । इलामको राजदुवालीमा सडक भासिँदा झापादेखि ताप्लेजुङसम्मको सडक बन्द भएको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडाँमा पहिरो आउँदा कान्तिलोकपथ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ कोदारीमा अरिनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

त्यस्तै, सम्भावित बाढीपहिरोका कारण बीपी राजमार्गको खुर्कोट(नेपालथोक (कटुन्जेबेँसी खण्ड र कान्तिलोकपथ (हेटौंडा-ठिंगन -बागमती) मा सवारी साधन संचालनमा रोक लगाइएको छ ।

प्रहरीका अनुसार अर्घाखाँचीको पाणिनी गाउँपालिका २, ढुंग्रेखोलामा पहिरो खस्दा सालझण्डी ढोरपाटन सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *