अनलाइन ड्राइभिङ लाइसेन्स सेवा अनिश्चितकालका लागि बन्द

यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी अधिकांश सेवा अनिश्चितकालका लागि स्थगित भएका छन्।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्तकुनाले सार्वजनिक सूचना जारी गर्दै ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएको जनाएको हो। प्रणालीमा समस्या आएपछि कार्यालयबाट प्रवाह हुने अधिकांश सेवा अर्को सूचना नआएसम्म बन्द रहने भएका छन्।

कार्यालयका अनुसार लाइसेन्स वितरण, दुईपांग्रे सवारी साधनको ब्लूबुक नवीकरण तथा असार २९ गते निर्धारित लिखित र निश्चित वर्गका प्रयोगात्मक परीक्षा भने सञ्चालन हुनेछन्। यीबाहेक अन्य सेवा तत्कालका लागि स्थगित गरिएको छ।

सेवा अवरुद्ध भएसँगै नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिने, सवारी वर्ग थप गर्ने तथा लाइसेन्स नवीकरण गर्न चाहने सेवाग्राही प्रभावित भएका छन्। सर्भरमा देखिएको समस्याका कारण सेवा दिन नसकिएको भन्दै कार्यालयले सेवाग्राहीमा परेको असुविधाप्रति क्षमायाचना गरेको छ। सेवा कहिलेदेखि नियमित हुन्छ भन्ने विषयमा भने कार्यालयले स्पष्ट समय तोकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *