काठमाडौं– काठमाडौं उपत्यकाका प्रमुख बसपार्क तथा यात्रु चाप हुने क्षेत्रमा यात्रुलाई अनावश्यक दुःख–हैरानी दिने व्यक्तिविरुद्ध नेपाल प्रहरीले कारबाहीलाई तीव्र बनाएको छ।
यसैक्रममा बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कलंकी र नयाँ बसपार्क क्षेत्रबाट ६० जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ती व्यक्तिहरूले पैदल हिँडिरहेका यात्रु तथा सर्वसाधारणलाई जबर्जस्ती गाडीमा चढाउन खोज्ने, झोला तथा सामान तान्ने र विभिन्न किसिमले अनावश्यक हैरानी दिने गरेको गुनासोका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा ट्याक्सी चालक, होटल सञ्चालक तथा होटलमा कार्यरत कर्मचारीलगायत रहेका छन्। उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसअघि पनि प्रहरीले बल्खु, जडीबुटी र कोटेश्वर क्षेत्रमा सञ्चालन गरेको विशेष अभियानका क्रममा यात्रुलाई दुःख दिने दर्जनौं व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।
यात्रुको सुरक्षा सुनिश्चित गर्न तथा सार्वजनिक स्थानमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।