नगर भवन निर्माणको जगले ९ घर पहिरोको जोखिममा

कालीकोट — खाँडाचक्र नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि खनेको जगका कारण ९ वटा घर पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीयका अनुसार पहिरोको त्रासका कारण प्रभावित परिवार राति घरमै बस्न सकिरहेका छैनन्।

नगरपालिकाले साततले प्रशासनिक भवन निर्माणका लागि गत वर्ष फागुनमा डोजर प्रयोग गरेर जग खनेपछि मान्म बजार जाने सडक भत्किएको थियो। त्यसपछि करिब २० लाख रुपैयाँ खर्चेर पर्खाल निर्माण गरिए पनि यस वर्ष फेरि पहिरो खस्न थालेको छ।

स्थानीयले निर्माण कम्पनीको ढिलासुस्तीका कारण जोखिम झन् बढेको बताएका छन्। आयोजना सुरु भएको लामो समय बितिसक्दा पनि निर्माण कार्यले अपेक्षित गति लिन नसकेको उनीहरूको गुनासो छ।

पहिरोको जोखिममा कर्णप्रसाद चौलागाई, लालप्रसाद पोखरेल, भानुभक्त आचार्य, भवानीप्रसाद आचार्य, कालीबहादुर शाही, गंगाराम आचार्य, हर्कबहादुर शाही र रामकान्त आचार्यलगायतका घर परेका छन्।

पहिरोका कारण मान्म बजार जाने सडकसमेत अवरुद्ध हुँदा स्थानीय व्यवसायी प्रभावित भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जोखिम कम गर्न निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने बताएका छन्।

नगरपालिकाले करिब १९ करोड ६२ लाख रुपैयाँ लागतमा काठमाडौंको एम एसआर एण्ड सीएस कम्पनीसँग २०८१ पुसमा ठेक्का सम्झौता गरेको थियो। निर्माण सम्पन्न गर्ने म्याद २०८४ असार २४ गतेसम्म रहेको नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *